Logo

‘कांग्रेससँग सहकार्य हुँदैन’



काठमाडौं, १२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महेन्द्र राय यादवले तत्काल प्रदेश नम्बर २ सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउनेबारे छलफल नभएको जिकिर गरेका छन् । आइतबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाली बहस’ को लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

उनले प्रदेश २ मा संयुक्त सरकार रहेकोले अहिले संयुक्त नीति तथा कार्यक्रम आउन नसकेको गुनासो पोखे । उनले भनेका छन्,‘पहिला हामी संयुक्त नीति तथा कार्यक्रम बनाउँछौं । अनिमात्रै, मन्त्रीहरुको कामको बारेमा मुल्यांकन गर्छौं ।’ पार्टीको आधिकारिक बैठक अहिले नबसेकोले यसबारेमा कुनै छलफल तथा निर्णय नभएको यादवको जिकिर छ ।

सरकार म्याण्डेटअनुसार अघि बढ्नुपर्ने उनको भनाई छ । तराई मधेश बाढी, डुवानको मारमा परेको बेला केन्द्र सरकारले अहिलेसम्म नहेरेको उनको गुनासो छ । तर, प्रदेश सरकारले आफ्नो साधन र स्रोतले भ्याएसम्म पीडितहरुलाई राहत तथा सहयोग गरिरहेको यादवले जिकिर गरे ।

यादवले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नीति तथा विचार नमिल्ने भएकोले सहकार्य नहुने ठोकुवा गरे । उनले भने,‘कांग्रेससँग हाम्रो मुद्दा मिल्दैन् । विचार मिल्दैन् । हाम्रो सहकार्य हुँदैन् ।’ संसदमा मुद्दा मिल्दा एक ठाउँमा हुने यादवले विश्वास दिलाए । उनले थपे,‘कांग्रेससँग हाम्रो मिल्ने कुनै सम्भावना छैन् ।’



प्रतिक्रिया दिनुहोस्