Logo

‘तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्छौं’



काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि सुनाए । उनले भने,‘पार्टीको आन्तरिक संगठन सवलीकरण र मजवुद पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागु गर्नुपर्छ ।’ आफ्नो पार्टी तेस्रो ठूलो शक्तिको रुपमा संसदमा रहेकोले सोहीअनुसार सार्थक र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि यादवले सुनाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै संयोजक यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने,‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं ।’ लोकतन्त्रको सवालमा, जनताको जनजीवीकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहनेपनि उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्