ललितपुर । सुनिता लामा लोप्चन र राजेश लामाबीच प्रेम सम्बन्ध थियो । सुनिता बस्दै आएको इमाडोल सुवेदी गाउँस्थित घरमा ओहोरदोहोर बाक्लो हुन्थ्यो । दुवैले सँगै जीउने कसम खाइसकेका थिए । झांगिएको प्रेम विवाहमा परिणत हुँदै थियो ।
विवाह छिनियो । साथीभाई र इष्टमित्रलाई राजेशले सुनितालाई सिन्दुर पोते गरेर ल्याउने खबर गरिसकेका थिए । काभ्रेको अम्बोटेस्थित घरमा भोजभत्तेरको तयारी गर्न भनिसकेका थिए । काभ्रेको शिखर अम्बोटेमा राजेशले २८ मंसिर २०६४ मा सिंदुर पोते गरेर प्रेमिका सुनितालाई ल्याउँदैछन् भन्ने हल्ला भइसकेको थियो ।
आफूले मनपराएकी केटीलाई विवाह गर्न लागेकोमा भाग्यमानी ठाने । गाउँमा राजेशले कस्ती केटीसँग विवाह गर्दैछ भन्ने चासो बढेको थियो । राजेशले साथीभाईलाई भनिसकेको अवस्थामा सुनिता सम्पर्कविहिन भइन् । सिंदुर पोतेको एक हप्ता अघि सुनिता गायब भएपछि खोज्न थाले । तर, मिति नाघेपछि पनि भेटेनन् । भेट्न खोज्दा पनि सम्पर्कमा आइनन् । दुवैबीच तोकिएको विवाह रद्द भयो ।
छिनिइसकेको विवाह रद्द भएपछि राजेशले बेइज्जती महशुश गरे । धोका दिएको ठाने । प्रतिष्ठा गुमेको महशुश गरेका उनले एक हजार रुपैयाँमा छुरा किने ।
सुनिता बस्दै आएको इमाडोल सुवेदी गाउँस्थित कोठा वरपर धेरै दिनसम्म घुमिरहे । नियमित आवतजावत गरी मौका कुर्थे । एकदिन कोही नभएको मौका छोपी कोठामा पसे । २७ पौष २०६४ को दिन मृतकको कोठामा पसेर अन्धाधुन्दा छुरा प्रहार गरे ।
नेपाल प्रहरीका अनुसार सुनिताको शरीरभरी छुरा हानी अन्तमा कोखा मुनी रोपेर फरार भए । हत्यापछि उनी नाम परिवर्तन गरेर बसे । हेटौंडास्थित खाना होटलमा राजु लामा नाम राखेर बसे ।
समय बित्दै गएपछि काठमाडौं आई विभिन्न स्थानमा कुकको काम गरे । पछि घरमा रङ्गरोगनको काममा लागे । यसै सिलसिलामा प्रहरीले उनका बारेमा जानकारी पायो ।
घटना भएको १२ वर्ष बितिसकेकाले कसैले नचिन्ने सोचेका थिए राजेश लामाले । तर, प्रहरीले १२ वर्षमा पक्राउ गर्यो । घटना हुँदा २५ वर्षका लामा पक्राउ पर्दा ३७ वर्ष पुगिसकेका थिए ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १० साउन २०७६ मा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ । ललितपुरको सानेपामा रङ्गरोगन गरिरहँदा उनी पक्राउ परेका थिए ।