काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले पार्टीमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमभन्दा ईश्वर पोखरेलको योगदान कम नरहेको भन्दै स्कुल विभागको प्रमुख पोखरेललाई नै बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो धारणा राखेका हुन् ।
पार्टी नेतृत्वले पार्टी एकताका सबै काम सम्पन्न गरिसकेको अवस्थामा स्कुल विभागको नेतृत्वलाई लिएर अब हात्ति छिर्यो पुच्छर अड्कियो बनाउन नहुने पनि उनले सुझाव दिए । उनले भने,”अनेक खालका विवादलाई समाधान गर्दै आएको यो पार्टी, विभागको नेतृत्वमा आएर अड्कियो ।” स्कुल विभागको नेतृत्व ईश्वर पोखरेललाई दिनुहुँदैन र पोखरेलबाहेक जो भएपनि हुन्छ भनेर पार्टीभित्रबाट उठेको आवाजलाई बडुले न्यायिक विश्लेषण नभएको टिप्पणी गरे ।
फरक प्रसँगमा उनले राजा महेन्द्र र आफ्नै पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा अध्यक्ष केपी शर्मा ओली धेरै राष्टवादी रहेको पनि दाबी गरे ।