काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन् । तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन् ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बरु अब सरकारले काम गर्ने शैली बदल्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं । अब अर्को वर्ष हामी राम्रो काम गर्छौं । हामी बडो ईमानदारिताका साथ काम गर्छौं ।’
२ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन् । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’
मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने,‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन् । तर राहत धेरैलाई पुगेको छैन् ।’
उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको स्पष्ट पारे । उनले भने,‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन् । एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन् । र, अहिले यो समस्या आएको हो ।’