Logo

सांसदहरुद्धारा गृहमन्त्रीमाथि हमला, श्रेष्ठको आत्महत्यादेखि निर्मला हत्याबारे प्रश्न



काठमाडौं, १५ साउन ।प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको हिजो (मंगलबार) बसेको बैठकमा समिति सदस्यहरुले विभिन्न घटनामा गृहमन्त्रीको जवाफ माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायव सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे ।

उनले ९ तला माथिबाट खस्दा पनि श्रेष्ठको शरीरमा कतै पनि रगत नदेखिनु र आत्महत्या भन्नुले ललिता निवास प्रकरण लुकाउनका लागि हत्या गरिएको त होइन भन्ने शंका उब्जिएको बताए ।

नेकपाका सांसद एवं समिति सदस्य झपट रावलले भने दैनिक १० जना भ्रष्टाचारीहरुले आत्महत्या गरेको सुन्न पाइयोस् भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउने भन्दा पनि आत्महत्या नै भएको भन्ने ढंगले आफ्नो धारणा राखे ।

सांसद प्रेम सुवालले सुन काण्ड र निर्मला पन्त हत्याका अपराधीलाई अझै पनि नियन्त्रणमा लिन नसकेको भन्दै अपराधीलाई मृत्युदण्ड दिने प्रावधान राख्ने गरि संविधान संशोधन गर्न सरकारलाई निर्देशन दिनुपर्ने तर्क गरे । कांग्रेस सांसद डिला संग्रौलाले निर्मला पन्त हत्या सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले गैर जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाइन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्