काठमाडौं। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ । मंगलवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सांसदहरुले राखेका संशोधन प्रस्ताव र सांसदहरुका राय समेटेर परिमार्जनसहित विधेयक पारित गरेको हो ।
विधेयकले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी कार्यलाई राष्ट्रियस्तरमा प्रभावकारीरुपमा सन्चालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् गठन गर्ने व्यवस्था गरेको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षणका लागि सबै पक्षको सहयोग र समन्वयकारी भूमिका आवश्यक रहेको बताउनु भएको छ । विधेयकमाथि २१ जना सांसदले संशोधन प्रस्ताव राखेका थिए । बैठकमा वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा समितिले तयार पारेको प्रतिवेदन–२०७६ माथि छलफल भएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम