काठमाडौं । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सक्रियता बढाएकी छिन् । उनले देश विदेशका प्रभावशाली व्यक्तिहरुसँग भेटघाट तिव्र पारेकी छिन् ।
यसै सिलसिलामा १४ साउनमा डिनरसहितको भेटघाट आयोजना गरिन् । जसमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी निम्त्याइएका थिए । साँझ मण्डिखाटारस्थित निवासमा पुगेका राजदूत पुरीले खुबै रमाइलो कुराकानी गरेको भेटमा सहभागी एक नेताले बताए ।
दुई घण्टासम्म बसेका पुरीको साथमा दूतावासको संस्कृति विभागका प्रमुख प्रा.डा. केदारनाथ शर्मा पनि पुगेका थिए । पुरीले खुलेर दुई देशको सम्बन्ध र पछिल्लो अवस्थाबारे बोलेको कोइराला निकट विश्वस्त स्रोतले बताएको छ ।
राजदूत पुरी आउने टुंगो लागेपछि सुजाताले परिवार र आफू निकटस्थलाई समेत बोलाएकी थिइन् । डिनरमा नेपाली काँग्रेसका महामन्त्री डा.सशांक कोइराला समेत सहभागी थिए । डा. शेखर कोइराला यूरोप यात्रामा भएकाले सहभागी भएनन् । कोइराला परिवारका सदस्यहरु र निकटस्थहरुसँग राजदूत पुरीको संयुक्त भेटलाई अर्थपूर्ण मानिएको छ ।
डिनरसहितको भेटमा नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, काँग्रेस नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे, बिनोद भट्टराई, मोती श्रेष्ठ, राकेश हमाललगायत सहभागी थिए ।
डिनरसहितको भेटबारे काँग्रेस नेता सुजाता कोइरालासँग बुझ्दा आफ्नो निम्तोलाई स्वीकार गरेर राजदूत पुरी आएको बताइन् । भेटमा डा. सशांक कोइराला सहभागी भएपनि डा. शेखर कोइराला विदेश यात्रामा रहेकाले सहभागी हुन नपाएको बताइन् । तर, कोइराला परिवारका सदस्यसहित राजदूत पुरीको भेटलाई महत्वका साथ हेर्न सकिन्छ ।
पछिल्लो समय जीपी कोइराला फाउण्डेशनलाई सक्रिय बनाएर सुजाताले सामाजिक गतिविधि बढाइरहेकी छिन् । उनले राजनीतिभन्दा सामाजिक क्षेत्रमा भूमिका निर्वाह गर्ने बताउँदै आएकी छिन् । तर, सुजाताले कोइराला परिवारबाट राजनीतिक शक्ति अन्यत्र जान नदिन भित्र भित्र भूमिका खेल्दै भाई सशांक कोइराला र दाई शेखर कोइरालालाई मिलाउन खोजिरहेकी छिन् । Photo: Social Media