साउन १५, काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता नेपालमा हुँदैछ । तर भौतिक पूर्वाधार पर्याप्त छैन । न त तयारी नै सन्तोषजक छ । मैदान अभावकै कारण विश्वकप फुटबल २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसले नेपाललाई घाटा लाग्ने भएको छ ।
एएफसीले हालै सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले भदौ १९ मा कुवेतसँग र २४ मा चाइनिज ताइपेईसँग आफ्नै घरेलु मैदानमा खेल्नुपर्छ । तर दशरथ रंगशालाको पुनर्निर्माण नसकिएकाले दुबै खेललाई अवेमा रुपान्तरण गर्नुपर्ने अवस्था आएको छ ।
नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गरेको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । त्यसपछि अष्ट्रेलियासँग उसकै घरेलु मैदानमा २३ असोजमा खेल्नुपर्नेछ ।
२८ असोजमा हुने जोर्डनसँग होम खेल खेल्नु पर्ने हो । यसलाई अवेमा रुपान्तरण गर्न आग्रह गरिएको छ । मंसिर ३ मा कुवेतसँग अर्को खेल छ । १९ भदौको होमलाई अवेमा रुपान्तरण गर्दा यो खेल नेपालमा हुनुपर्ने हो । तर त्यसबेलासम्म पनि रंगशाला तयार नहुने भएकाले यो खेल पनि कुवेतमा नै हुनेछ ।
विश्वकप छनोटमा नेपालले कुवेतसँगको दुबै खेल उसकै घरेलु मैदानमा खेल्नेछ । यसपछिका तीन खेल भने नेपालमा हुनेछ । एसीसीको तालिकाअनुसार नेपालले १३ चैतमा चाइनिज ताइपेईसँग खेल्नेछ । १८ चैतमा अष्ट्रेलियाले नेपालसँग काठमाडौंमा खेल्नेछ भने २२ जेठमा जोर्डनसँग होम म्याच खेल्नेछ ।
फिफा विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले खेल्ने ८ खेल मध्ये ३ वटा खेल मात्र घरेलु मैदानमा खेल्ने भएको छ । प्रतियोगितामा नेपालले ४ खेल घरेलु मैदानमा (होम म्याच) र ४ खेल विपक्षी टिमको मैदानमा (अवे म्याच) हुने तय छ ।
समूह ‘बी’ रहेको नेपालले चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियाविरुद्ध होम र अवे म्याच खेल्नेछ । यद्यपी कुवेतविरुद्ध भने दुवै खेल अवे बनाउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार निर्णय गरेको छ । दशरथ रंगशाला निर्माण आगामी कार्तिक १५ मा मात्र सकिने भएकाले नेपालको खेल तालिका प्रभावित भएको हो ।
खेलका लागि अन्तर्रा्ष्ट्रिय मापदण्डको मैदान चाहिने नियमअनुरूप नेपालले दशरथ रंगशालामा होम म्याच खेलाउने तयारी थालेको थियो । तर चिनियाँ कम्पनीले सम्झौताअनुसार निर्माण सकेर कार्तिक १५ गते पछि मात्र रंगशाला दिने भएपछि एन्फाले सुरुमा अवे म्याच गराउन पहल थालेको थियो ।
अब एएफसीले स्वीकृति दिएपछि नेपालले पहिले अवे र त्यसपछि होम म्याच खेल्ने पक्का हुनेछ । भूकम्पपछि क्षतिग्रस्त बनेको दशरथ रंगशाला पुन निर्माणमा गरिएको ढिलाईले नेपाली फुटबललाई ठूलो क्षति पुग्ने देखिन्छ । तर यसबारे सरोकारवाला निकायले कहिल्यै पनि गम्भीरतापूर्वक लिएको पाइदैन ।