Logo

‘रामचन्द्रले पार्टी नेतृत्वमा जाने आकांक्षाले देउवामाथि आरोप लगाए’



काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाएपनि पार्टीभित्र तर्कपूर्ण बहस तथा छलफल गर्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सभापति देउवाजीको स्वभाव नै सबैलाई मिलाएर लैजाने हो, सहमतिमा निर्णय गर्नुहुन्छ । उहाँ कहिल्यैपनि पेलेर जानुपर्छ भनेर हिँड्नुभएन् । उहाँसँग अहिलेपनि बहुमत छ । तर, उहाँले बहुमतको निर्णय लाद्नुभएन् । सभापतिको स्वभाव नै सहमतिमार्फत नै अघि जाने हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भएकै संरचनालाई समायोजन गरेर संयोजक तोक्दै अघि बढिए भदौभित्र अन्तरिम संरचना बन्ने विश्वास दिलाए । उनले भने,‘र, ६ महिनाभित्र सक्रिय सदस्यको टुँगो लाग्छ, फागुणसम्म मतदाताको टुँगो लाग्छ । अनि महाधिवेशनको कार्यतालिका आउँछ ।’

पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे । उनले भने,‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै नेतृत्वमा जाने चाहना व्यक्त गर्दा हुन्छ । अहिले नै बाजा बजाएर हुँदैन् । अहिलेको सभापति फेरि नेतृत्वको लागि लड्नुहुन्छ कि हुँदैन ? या उहाँ किन लड्नुपर्यो भनेर अहिल्यै नै बहस चलाउन सान्दर्भिक छैन् ।’

अझैपनि पार्टीले गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले सुनाए । उनले भने,‘अहिलेपनि जागरण कार्यक्रम गर्न बाँकी छ । पहिलो जागरण कार्यक्रम सम्पन्न भयो, दोस्रो र तेस्रो जागरण कार्यक्रम बाँकी छ । संगठन विस्तारमा हामी केन्द्रित हुन्छौं ।’

फरक प्रसँगमा उनले कांग्रेस प्रतिपक्षमा भएरपनि प्रतिपक्षीजस्तो भूमिका खेलेन भनेर गरिएकोप्रति आपत्ति जनाए । उनले भने,‘प्रतिपक्षमा हुँदैमा कुटपिट नै गर्नुपर्छ । मारपिट नै गर्नुपर्छ । रत्नपार्कमा गएर रेलिङ भाँच्नुपर्छ भन्ने छैन् । हामी त मर्यादाभित्र रहेर र प्रक्रियालाई आत्मासात गरेर विरोध गरिरहेका छौं । अब हामी सदन र सडक दुवै ठाउँबाट सशक्त र मर्यादित अनि सक्रिय भूमिका निर्वाह गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्