काठमाडौ । बाजुराको गौमुल गाँउपालिकाले सञ्चालनमा ल्याएको मदिरा सेवन कार्ड प्रभावकारी बन्दै गएको छ । रक्सी सेवनकर्ताले उक्त कार्ड नभई किन्न तथा खान नपाउने भएपछि अहिले गाँउमा रक्सी सेवनकर्ताको संख्यामा कमी आउन थालेको छ ।
गाँउपालिकाले गत वर्ष असारमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५ नै बनायर उक्त नियम कार्यान्वयनमा ल्याएको थियो ।गाँउपालिकाका अनुसार अहिलेसम्म दुई सय जतिले उक्त कार्ड लिइसकेका छन ।
त्यतिमात्रै होइन उक्त गाँउपालिकाका जनप्रतिनिधिले पनि बिना कार्ड रक्सी सेवन गर्न नपाउने नियमका कारण जनताद्वारा जनप्रतिनिधिको अनुगमन पनि हुने गरेको भेटिन्छ ।
गाँउपालिकाले १८ वर्ष मुनिकालाई रक्सी किनवेच तथा खानमा सक्त रोक लगाएका कारण किसोरा अवस्थामा रहेकालाई उक्त कुलतबाट बचाउन सकिने भएको छ ।गाँउपालिकाले बिनाकार्ड रक्सी किनबेच तथा खाएको भेटाए पहिलो पटक दुई हजार रुपैयाँ जरिवाना लगाएको छ ।
अहिलेसम्म जरिवानाबाट एक लाख भन्दामाथी संकलन भैसकेकोे पनि गाँउपालिकाले जनाएको छ ।गाँउपालिकामा एक मात्र पसललाई रक्सी विक्रि वितरणको अनुमती दिएको छ ।
मदिरा सेवनकै कारण गाँउमा विभिन्न हिंसा तथा अपराध बढ्दै गएपछि गाँउपालिकाको उक्त नियमले अहिले गाँउको मुहार फेरिएको छ । समाजमा हुने झै–झगडादेखि लिएर परिवारिक कलहका विषयहरु अहिले कम हुँदै गएका छन ।