Logo

युरापेली लगानी नेपाल भित्र्याउन शेखर कोइरालाको आग्रह



ईटाली (रोम), १८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको विशिष्ट आतिथ्यतमा उक्त बैठक सुरु भएको हो । बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा कांग्रेस नेता कोइरालाले नेपाल–युरोप सम्बन्धको बारेमा प्रकाश पारेका थिए । उनले नेपालीको आप्रवासन इतिहासबारेपनि आफ्नो भनाई राखेका थिए । उनले सुगौली सन्धि आसपास चार हजार ६ सय पचास युवाबाट सुरु भएको आप्रवासनबाट आज ५० लाखको संख्या पुगेको पनि सुनाए ।

 

कोइरालाले सरकारमा को छ भन्ने ? कुरा गौण रहेको बताउँदै देश निर्माणमा लाग्नुपर्नेमा पनि जोड दिए । गैरआवासीय नेपाली संघले नेपाल सरकारसँग गरेको दश अर्बको लगानीले नेपालमा लगानी भित्रिने विश्वास व्यक्त गरे । उनले युरोपेली लगानी नेपालमा भित्र्याउनको लागि गैरआवासीय नेपालीहरुलाई पुल बन्नपनि आग्रूह गरे ।

रोमको इर्गिफ होटलमा उक्त बैठक सुरु भएको हो । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ ।

यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।

यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।

यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ ।

यसअघि बुधबार इटालीको रोममा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको थियो । तस्विर : कुमार पन्तको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्