Logo

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा हरेक नेपालीको आत्माको आवाज हो : डा. उपेन्द्र महतो



ईटाली (रोम), १८ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोपेली क्षेत्रीय बैठक इटालीको राजधानी रोममा आजदेखि सुरु भएको छ । नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको विशिष्ट आतिथ्यतमा उक्त बैठक सुरु भएको हो । बैठकमा विश्वभरका एनआरएन नेताहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले देश बनेन भने व्यक्तिगत सफलताको अर्थ नरहने बताएका छन् । उनले भने,‘हाम्रो शान्त, सुन्दर देश आर्थिक रुपमा मात्र समृद्ध हुन जरुरी छ । नेता, प्रशासक वा अरु कसैलाई दोष दिएर हुँदैन् । सबैजना हातेमालो गरेर अघि बढौं ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा हरेक नेपालीको आत्माको आवाज भएको पनि महतोको भनाई छ ।

रोमको इर्गिफ होटलमा उक्त बैठक सुरु भएको हो । ‘एनआरएनए यूरोपको उद्देश्य देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य’ भन्ने मुल नाराका साथ आयोजित बैठकको मुख्य एजेण्डा लगानी र पर्यटन प्रवर्द्धन रहेको छ ।

यसैगरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको सन्देश प्रवाह गर्नुका साथै सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्नेपनि उद्देश्य रहेको छ ।

यसैगरी बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।

यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिनेछ ।

यसअघि बुधबार इटालीको रोममा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन गरिएको थियो । तस्विर : कुमार पन्तको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot