Logo

हामीले उठाएका माग सम्बोधन नभएसम्म संसद अवरुद्ध जारी रहन्छ : सचेतक पुष्पा भुषाल



काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले आफूहरुले उठाएका माग सम्बोधन भए भोलि संसद सुचारु हुने नभए अवरुद्ध जारी राख्ने स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘हामीले उठाएका कुराहरु सम्बोधन भए भोलि बस्ने संसद सुचारु हुन्छ । अन्यथा हामी संसद अवरुद्ध जारी राख्छौं ।’ उनले आफूहरु हिंसाको पक्षधर नभएको पनि स्पष्ट पारिन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भुषालले सरकारबाट लोकतान्त्रिक मूल्य र मान्यताको आधारस्तम्भ भत्काउने काम भयो भने आफूहरु त्यसको विरोधमा उत्रिने बताईन् । उनले भनिन्,‘हामी मानवअधिकार, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, प्रेस स्वतन्त्रताको पक्षमा छौं । संविधान विरोधी गतिविधि भए हामी त्यसको विरोध गर्छौं । यी सबै विषयहरु उठाउने महत्वपूर्ण थलो भनेको नै संसद हो । त्यही भएर हामीले यी विषयहरु उठाईरहेका छौं ।’

सर्लाहीमा असार ५ गते घटेको कुमार पौडेल हत्या प्रकरणको बारेमा आफूहरु संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेर माग गरिरहेको पनि उनले सुनाईन् । उनले भने,‘यो घट्नामा मानवअधिकारको उल्लघंन भएको छ । यो घट्नामा संसदीय समिति गठन गर्नुपर्छ । यसबारेमा संसदले सरकारलाई आवश्यक निर्देशन दिनुपर्छ ।’ त्यस्तै, असार १४ र असार १५ गते भएका अन्य दुई घट्नाको सवालमा पनि संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको माग रहेको भुषालले सुनाईन् । राज्यले ईनकाउन्टरको नाममा नागरिकको हत्या गरेको पनि उनको आरोप छ ।

उक्त घट्नाको बारेमा सदनमा मात्रै होईन सडकमा पनि आवाज उठिसकेको पनि उनले बताईन् । उनले भनिन्,‘यतिका धेरै आवाज र प्रश्नहरु उठिसकेपछि सरकारले सदनलाई जवाफ दिनुपर्छ । शान्तिपूर्ण तवरले आन्दोलन गर्दा पनि गोली चलाईएको छ । यो गलत भयो । गैरन्यायिक काम भएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।’ छानबिन समिति बनाउनको लागि सरकार किन तयार नभएको भन्दै उनले प्रश्नसमेत तेसाईन् ।

उनले यदि सर्लाहीका तीन वटै घट्नामा सरकारले चालेको कदम ठिक छ भन्ने लागेको छ भनेपनि त्यो कुरा संसदमा आएर ठिक हो भनेर भन्नुपर्ने आफूहरुको भनाई रहेको सुनाईन् । उनले भनिन्,‘संसदीय समिति भनेको न्यायिक समिति होईन, त्यसैले राज्य डराउनुहुँदैन् । संसदमा उठेका विषयमा छलफल हुनुपर्छ । ईगोको कारण ईस्यु बनाउनुहुँदैन् ।’ उनले भोलि बस्ने बैठक सुचारु गराउनको लागि आफूहरु तयार रहेको सुनाईन् । तर, संसद चल्ने वा नचल्ने भन्ने कुरा सत्तापक्षमा भर पर्ने पनि जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्