Logo

बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कार्वाहीको व्यवस्था गर्न माग



काठमाडौं, १९ साउन । आईतबार संघीय संसदको अर्थ समितिमा बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कार्वाहीको व्यवस्था गर्नुपर्ने आवाज उठेको छ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक लेखा समितिले ठहर गरेको बेरुजु ३ महिनादेखि ६ महिनाभित्र असुल उपर गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे ।

आईतबार संघीय संसदको अर्थ समितिमा पेश गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो माग गरेका हुन् । उनले सार्वजनिक लेखा समितिले दिएको निर्देशनअनुसार बेरुजु फछर्यौंट नगर्नेमाथि कडा कानुनी कार्वाहीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन पनि विधेयकमा सो कानुनी व्यवस्था गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । कार्कीले सबै बेरुजु महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रस्ताव पनि अघि सारे ।

उनले आन्तरिक लेखा परीक्षण समूह र लेखा सञ्चालन तथा व्यवस्थापन समूह भनि खटाइएका कर्मचारीलाई एक समूहबाट अर्को समूहमा परिवर्तन नगर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्