Logo

‘कार्यसम्पादन सम्झौताले सरकारका प्रतिबद्धता कार्यान्वयन गर्न सहज’



काठमाडौं, २० साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कार्यसम्पादन सम्झौताले जनताका अपेक्षा र सरकारका प्रतिबद्धता कार्यान्वयन गर्न सहज बनाउने विश्वास दिलाएका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले वर्तमान सरकारले इतिहासमै पहिलोपटक प्रधानमन्त्रीले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरी नयाँ विधिको थालनी गरेको बताएका हुन । कार्यसम्पादन सम्झौताले व्यक्तिलाई थप जिम्मेवारी बनाउने उल्लेख गर्दै मन्त्री बस्नेतले कार्यसम्झौताअनुसार सबैले आ–आफ्नो प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरे ।

मन्त्रालयले गत आर्थिक वर्षमा सङ्घीयताअनुसार कर्मचारीको व्यवस्थापन र कानून निर्माणसँगै सन्तोषजनक प्रगति हासिल गरेको जानकारी गराउँदै उनले चालू आवमा नयाँ योजनाका साथ शुरुआती चरणदेखि नै तीव्ररुपमा कार्यान्वयनमा प्रवेश गर्ने स्पष्ट पारे । मन्त्रालयले गत आवमा ८८ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले कार्यसम्पादन सम्झौताले मूल्याङ्कन र अनुगमनमा देखिएको कमजोरी हटाई सम्बन्धित व्यक्तिलाई थप जिम्मेवार बनाउने बताए। उनले यस सम्झौताले दैनिक कार्यमा समेत सघाउने उल्लेख गर्दै कार्यसम्पादन सम्झौताअनुसार जिम्मेवारी निर्वाह गर्न सबैलाई खरो उत्रिन आग्रह गरे।

वन मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले बजेट र नीति तथा कार्यक्रमअनुसार सम्पादन गर्नुपर्ने काम, सम्बन्धित मन्त्रालय र निकायलाई दिइएको कार्यादेश एवम् पदको कार्यविवरणका आधारमा उक्त सम्झौता गरिएको बताए । उनले आफूले आफँैलाई अनुशासनमा बाँध्ने र थप जिम्मेवार बनाउने उद्देश्यले सम्झौता गरिएको जानकारी गराए।

कार्यक्रममा मन्त्री बस्नेतले सचिव डा ओलीलाई कार्यसम्पादन सम्झौता गराउनुभएको थियो भने सचिव डा ओलीले मातहतका विभाग, निकाय र महाशाखा प्रमुखलाई कार्यसम्पादन सम्झौता गराएका थिए । सो अवसरमा मन्त्रालयका सहसचिवहरु डा कृष्णप्रसाद आचार्य, डा महेश्वर ढकाल, चन्द्रमान डङ्गोल, यज्ञनाथ दाहाल र चक्रपाणि पाण्डे तथा महानिर्देशकहरु डा रामप्रसाद लम्साल, मनबहादुर खड्का, दीपककुमार खराल, सञ्जीवकुमार राई र आभा श्रेष्ठ ९कर्ण०ले कार्यसम्पादन सम्झौता गरेका थिए ।

यसैगरी रेड कार्यान्वयन केन्द्रका प्रमुख राधा वाग्ले, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य सचिव डा प्रेमनारायण कँडेल, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्की र नेपाल वन निगमका प्रमुख कार्यकारी अधिकृत डा लम्सालले कार्यसम्पादन सम्झौता गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्