Logo

ब्राउनसुगर प्याक गरिरहँदा युवक पक्राउ



काठमाडौं । प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट युवाहरुलाई पक्राउ गरेको छ । सुर्खेत, भेरीगंगा नगरपालिका(१२ मसिना बस्ने २८ वर्षीय झुपलाल परियार समेत ४ जनालाई ब्राउनसुगर १ ग्राम ७४ मिलिग्राम सहित २० साउनको बिहान प्रहरीले पक्राउ गरेको हो । परियारको घरमा लागूऔषध ब्राउनसुगर प्याक गर्दैछन् भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, हेटौंडा उपमहानगरपालिका(१५ पण्डित चोकबाट सोही उपमहानगरपालिका(१२ भोर्ले बस्ने २५ वर्षीय सुनिल तामाङलाई नियन्त्रित लागूऔषध ट्रामा ५० पिस, ट्याबबी ट्याब्लेट २० पिस, डिकोलिट ट्याब्लेट २० पिस र अवैध लागूऔषध गाँजा करिब २ सय ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले हेटौंडा बजारबाट हटियातर्फ जाँदै गरेको बा।२५ प ५०८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका-१६ तिनघरेबाट कास्की पोखरा महानगरपालिका-५ लेकसाईड बस्ने २० वर्षीय जिवन नेपालीलाई नियन्त्रित लागूऔषध नुर्फिन ४० एम्पुल, फेनारगन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल सहित राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ग।१ ख ७३७३ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार नेपालीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिद्धार्थनगर नगरपालिका(१३ बसपार्कबाट मर्चवार गाउँपालिका-१ बस्ने १८ वर्षीय जितेन्द्र यादबलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९३ एम्पुल, फेनारगन १ सय ९४ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल र दाङ तुल्सीपुर उपमहानगरपालिका(५ बस्ने २५ वर्षीय उज्वल रिजाललाई डाईजेपाम ५२ एम्पुल, फेनारगन ५२ एम्पुल र नुर्फिन ५३ एम्पुल सहित राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot