Logo

‘किरिया’ हिन्दुको भएको भन्दै शब्द परिवर्तन गर्न निर्देशन



काठमाडौं । निजामती सेवामा बिदाका लागि प्रयोग गरिदै आएको किरिया शब्द हटाइने भएको छ । हिन्दु धर्मसँग मात्र जोडिएको भन्दै यो शब्द हटाउन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति नै लागेको छ ।

देशमा धर्म नीरपेक्षता कायम भइसकेको भन्दै हिन्दु धर्मसँग जोडिएका शब्दहरु हटाउने क्रम चलिरहँदा किरिया बिदाको ठाउँमा ‘मृत्यु संस्कार बिदा’ बनाउने निर्देशन दिने राज्य व्यवस्था समितिले टुंगो लगाएको हो ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको हो । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलका क्रममा समितिको २१ साउनमा बैठकमा सांसदहरुले किरिया भन्ने शब्द कुनै एक धर्मसँग मात्र जोडिने भएकाले त्यसको सट्टा मृत्यु संस्कार राख्न सुझाव दिएका छन् ।

 

सांसदहरुले राष्ट्रसेवकका लागि बिदा अधिकार नभई सहुलियत भएकाले यसलाई सोहीअनुसार लिनुपर्ने धारणा व्यक्त गरे । बैठकमा विधेयकमा भैपरी आउने, पर्व र घर बिदा, प्रसूति, प्रसूति स्याहार, बिरामी र अध्ययन, असाधारण, बेतलबी बिदा लगायत सम्बन्धमा पनि छलफल भएको थियो ।

 

समितिका सभापति शशी श्रेष्ठको सभापतित्वमा भएको बैठकमा सांसदहरु खगराज अधिकारी, दिलेन्द्रप्रसाद बडू, यशोदा गुरुङ, पम्फा भुसाललगायतले विधेयकका व्यवस्था सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्