Logo

आत्महत्या अघि भिडियो रेकर्ड गरी पत्रकार पुडासैनीले क कस्को नाम पोले



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको पुष्टि भएपनि घटनाले नयाँ तथ्य बाहिर ल्याएको छ । नुवाकोट बेलकोठगढी घर भएका २७ वर्षीय पत्रकार पुडासैनीको २० साउनको राति शव फेला परेको घटनास्थलमा भेटिएको मोबाइलले उनलाई आत्महत्या गर्न वाध्य पारिएको तथ्य फेला परेको हो ।

चितवनको भरतपुर पुगेर होटल कंगारुको कोठा नम्बर २०२ को सिलीङ फ्यानमा नाइलनको डोरीको पासो लगाएर झुण्डिएका पुडासैनीले आत्महत्या अघि मोबाइलमा भिडियो रेकर्ड गरेको भेटिएको प्रहरीले बताएको छ । चितवन प्रहरीले भेटेको आठ मिनेट र तीन मिनेटको भिडियोमा एक जना नाम चलेका पत्रकारको समेत नाम उल्लेख छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले भिडियोका आधारमा अनुसन्धान भइरहेको बताएको राससले जनाएको छ ।

भिडियोमा दुई जना सञ्चारकर्मी र एकजना महिला आफूले आत्महत्या गर्नुको मुख्य कारण रहेको उल्लेख छ । ती सञ्चारकर्मी र महिलाको नाम घटनाको संवेनदशीलतालाई बुझेर रिपोर्टर्स नेपाल डट कमले सार्वजनिक नगरेको हो । प्रहरीका अनुसार उनीहरु नाम चलेकामध्ये पर्दछन् ।

नाम चलेका पत्रकारका कारण एउटा पत्रकार कसरी मर्न वाध्य भयो ? यस विषयमा प्रहरी अनुसन्धान केन्द्रित रहेको बुझिएको छ । डिप्रेसनमा परेर औषधी सेवन समेत गरिरहेका पुडासैनी कसरी डिप्रेशनमा परे ? भिडियोका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ । अनुसन्धानले गम्भीर तथ्यहरु बाहिर ल्याइरहेको प्रहरी स्रोतले बताएको छ । नेपालको पत्रकारिता क्षेत्रमा घटित नकारात्मक तथ्यहरु समेत बाहिर आउनसक्ने बुझिएको छ । पुडासैनीलाई आत्महत्याका लागि वाध्य पारिएको विषयमा छानविन गरी प्रहरीले मुद्दा अगाडि बढाउने तयारी गरेको हो ।

स्मरणीय रहोस् पत्रकार पुडासैनी लामो समय न्युट ट्वेन्टीफोमा आवद्ध थिए । त्यहाँ रवि लामिछानेले चलाउँदै आएको कार्यक्रम सीधा कुरा जनतासँगको उत्पादनको टिममा थिए । पछिल्लो समय उनी माउन्टेन टेलिभिजनमा आवद्ध थिए ।

यसैगरी, पुडासैनी हत्याबारे भ्रम फैलाउने तस्वीर र विषयहरु प्रकाशित भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानलाई प्रभावित पार्ने गरी अफवाह फैलाइएको भन्दै अनुसन्धान अगाडि बढेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्