काश्मिरलाई दिदै आएको संविधानमा विशेष स्वायत्त राज्यको अधिकार खारेजको निर्णयसहित मोदी सरकारले चालेको कदमप्रति कँग्रेस आईले असन्तुष्टि जनाइरहँदा नयाँ घटनाक्रम विकास भएको छ । कँग्रेस आइकै प्रभावशाली नेताहरुले मोदी सरकारको कदमको समर्थन गरेका छन् ।
कँग्रेस आईका प्रभावशाली नेता तथा काश्मिरका अन्तिम राजकुमार करण सिंहले भारत सरकारले काश्मिरबारे लिएको निर्णयको समर्थन गरेलगत्तै उनका छोरा विक्रममादित्य सिंहले पनि समर्थन गरेका छन् । दुवैले २३ साउनमा विज्ञप्तिमार्फत समर्थन जनाएका छन् ।
भारत सरकारले संविधानको ३७० धारा खारेजीको निर्णय उल्लेख गर्नै उनले भनेका छन्, म व्यक्तिगत रुपमा पछिल्लो विकसित घटनाक्रमको आवरण निन्दा गर्नेको समर्थन गर्न सक्दिन । करण सिंहले जम्मु र काश्मिरको विभाजनले दुवै राज्यबीच राजनीतिक अधिकारको न्यायसंगत बाँडफाँड हुने बताएका छन् । लैङ्गिक समानताको सुनिश्चितताका लागि धारा परिमार्जनमा जोड दिएका छन् ।
करण सिंह काश्मिरका अन्तिम राजा हरि सिंहका छोरा हुन् । हरि सिंहका नाति तथा करण सिंहका छोरा विक्रमादित्य सिंहले पनि विज्ञप्तिमार्फत भारत सरकारले चालेको कदमले जम्मु, काश्मिर र लदाकमा नयाँ युग शुरु भएको बताएका छन् । उनले सरकारको कदमलाई पूर्ण समर्थन जनाएको उल्लेख गरेका छन् । उनले भनेका छन्,‘म आफ्ना पिता डा. करण सिंहको धारणाको पूर्ण समर्थन गर्दछु ।’
काश्मिरबारे भारत सरकारले लिएको निर्णयको दुई दिनपछि कर्ण सिंह र उनका छोरा विक्रमादित्य सिंहको छुट्टाछुट्टै विज्ञप्ति सार्वजनिक भएको हो । बाबु हजुरबुवा हरि सिंह जम्मु काश्मिरका अन्तिम राजा हुन् । हरि सिंहले सन् १९४७ मा भारतसँग समाहित हुने पत्रमा हस्ताक्षर गरेका थिए । कर्ण सिंह काश्मिरका अन्तिम राजकुमार हुन् । उनले नेपालकी राणा परिवारकी सदस्य यशो राज्यलक्ष्मीसँग विवाह गरेका थिए । करण सिंह र यशो राज्यलक्ष्मी सिंहका छोरा विक्रमादित्य कँग्रेस आईका नेता हुन् ।