काभ्रे, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री अध्यक्ष कमल थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगातार कडा प्रहार गर्दै आएका छन् । उनले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताउँदै यसमाथि कसैले पनि गलत टिप्पणी नगरे हुन्छ भन्ने चेतावनी दिएका छन् ।
काभ्रेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै यस्तो कडा जवाफ फर्काएका हुन् । उनले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका हुन् । थापाले कांग्रेस र कम्युनिष्ट पटक–पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरेरै छाड्ने उद्धघोष गरे ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको भन्दै यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता रहेकाले २०७६ साललाई सङ्गठन निर्माण वर्ष घोषणा गरिएको बताए ।