भारतमा प्रतिपक्षी कँग्रेस आईको नयाँ अध्यक्ष चयन हुँदैछ । १० अगष्टको विहान नयाँ दिल्लीमा कँग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेर नयाँ अध्यक्ष चयन गरिने भएको छ ।
राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्षको चयन हुनलागेको हो । गएको लोकसभा चुनावमा हार व्यहोरेपछि नैतिकताका आधारमा राहुलले राजीनामा दिएका थिए । उनले परिवारको विरासत समेत सम्हाल्न नसकेको भन्दै आलोचना भएको थियो । सोनिया गान्धीले छोराका लागि अध्यक्ष पद त्यागेपनि राहुलले राजनीतिमा करिश्मा देखाउन सकेनन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सामु निकै कमजोर सावित भए ।
भारतीय समाचार संस्थाहरुका अनुसार कँग्रेस आईको नयाँ अध्यक्षका लागि मुकुल वस्निक र मल्लिकार्जुन खर्गे दाबेदार छन् । दुवै गान्धी परिवारका विश्वासपात्र मानिन्छन् । वस्निक र खर्गेमध्ये एक अध्यक्ष भएमा दुई दशकपछि कँग्रेस आईको अध्यक्ष गान्धी परिवारका सदस्यबाहेकबाट हुनेछ ।
कँग्रेस आईको राजनीतिक इतिहासमा अधिकांश समय गान्धी परिवारले नेतृत्व लिदै आएको छ । जवाहरलाल नेहरु देखि इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया गान्धी हुँदै राहुल गान्धी अध्यक्ष भएका छन् । गान्धी परिवारको दबदबाका कारण भाजपाले परिवारवाद भएको दल भनी आरोप लगाउने गरेको छ । Photo Source: News18