काठमाडौं, २५ साउन । राजपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव (केसी) ले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ओली सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।
उनले भने,‘जुन हिसाबले जनताले यो सरकारसँग नतिजा चाहेका थिए, त्यो अनुसार काम गर्न सकेन । दुई तिहाई बहुमत प्राप्त सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन् । सरकारले एकपछि अर्को गरेर गलत काम गरिरहेको छ । सरकार सधैं विवादको भूमरीमा फसेको छ । समृद्ध नेपालको कुरा गर्छ तर विकासका गतिविधि शुन्य छन् । विकास निर्माणको काममा पनि पूर्ण रुपमा असफलता पाएको छ । योजनाअनुसार काम भएन । जनताको माझमा सरकार जान सकेन । जताततै भ्रष्टाचार भएको छ ।’
त्यस्तै उनले राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालबीच एकताको हल्लामात्रै चलाईएको पनि आरोप लगाए । उनले भने,‘एकता हुन्छ भनेर दुवै पार्टीभित्रबाट हल्ला फैलाईएको छ । राजपा अध्यक्ष मण्डलको बैठकमा पनि यो विषयमा छलफल भएको छैन् । हाम्रो पार्टी अहिले महाधिवेशनमा केन्द्रित छ ।’ उनले महाधिवेशनअघि समाजवादी पार्टीसँग एकता नहुने पनि ठोकुवा गरे ।
उनले प्रष्ट्याए,‘राजपा नेपाल यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित छ । अहिले हामी आफैंभित्र धेरै कुरा मिलाउन बाँकी छ । राजपा नेपाल एकल नेतृत्वमा आएपछि मात्रै एकता सहज हुन्छ । ६ पार्टीको एकता संस्थागत हुनुपर्छ । हामी त्यसतर्फ केन्द्रित छौं । त्यसैले मलाई लाग्दैन कि महाधिवेशनअघि समाजवादी पार्टीसँग एकता हुँदैन् ।’
उनले अहिलेसम्म बनेका सरकारले पटक पटक मधेश र मधेशी जनतालाई धोका दिएको पनि आरोप लगाए । ओली सरकारले पनि संविधान संशोधन गर्छौं भनेर राजपा र तत्कालिन संघीय समाजवादी फोरम नेपालसँग सम्झौता गरेको भएपनि अहिलेसम्म संविधान संशोधनको बारेमा नामपनि नलिएको उनले आरोप लगाए ।
उनले भने,‘ हाम्रो पार्टीले त सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । किनकी यो सरकारले संविधान संशोधन गरेको छैन, सरकारले प्रतिबद्धता दिएअनुसार काम गरेन । संविधान संशोधनबारे एक स्टेप पनि कदम चालेन् ।’ उनले अब आफूहरु धेरै लामो समयसम्म पर्खिन सक्ने अवस्थामा नरहेको पनि जिकिर गरे । निकट भविष्यमा अधिवेशन र आन्दोलनको रणनीतिमा आन्तरिक तयारी भैरहेको पनि उनले जानकारी दिए ।