Logo

काश्मिरमा सडक र गाउँ घुम्दै अजित दोभाल (भिडियोसहित)



भारतले काश्मिरलाई संविधानमै धारासहित दिदै आएको विशेष राज्यको दर्जा खारेज गरेपछि त्यहाँ निषेधाज्ञा जारी गरिएको छ । काश्मिरमा हिंसात्मक घटनाको खतरा औल्याइएको छ । तर, संवेदनशील सुरक्षाको विषय उठिरहेको काश्मिरमा भारतका एकजना उच्च अधिकारी घुमिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभाल काश्मिरको सडक गल्ली र गाउँ घुमिरहेका छन् । मुसलमान बाहुल्यको काश्मिरमा इदको तयारीबारे जानकारी लिइरहेका छन् । खसी र भेडाको मूल्य देखि व्यापारको अवस्था सोधिरहेका छन् ।
दोभाल कहिले सर्वसाधारणसँग खाना खाइरहेका हुन्छन् त कहिले काश्मिरका स्थानीयको आवाज सुन्न उनीहरुलाई प्रत्यक्ष भेटिरहेका हुन्छन् ।

भारतको खुफिया एजेन्सीका प्रमुख भइसकेका अजित दोभाल अचानक काश्मिर पुगेका थिए । भारतले जम्मु काश्मिरलाई विशेष स्वायत्त राज्यका रुपमा प्रदान गर्दै आएको स्थानको संवैधानिक व्यवस्था खारेजको निर्णलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोभाललाई काश्मिर खटाएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा मन्त्री स्तरको पदमा रहेका उनी काश्मिर पुगेर स्थानीयसँग खाना खाइरहेको दृश्य सार्वजनिक भइसकेको छ । सेतो प्लाष्टिकको प्लेटमा हातैले दोभाल खाजा खाइरहेको दृश्यमा देखिन्थ्यो। उक्त स्थान दक्षिणी काश्मिरको सोपियान हो । जहाँ उनी बन्द सटरछेउको भुईँमा बसेर खाना खाइरहेका थिए ।


निकै सामान्य देखिने उनी स्थानीयसँग गफ गर्दै खाना खाइरहेको दृश्य त्यहाँको स्थिति सामान्य बन्दै गएको सन्देश दिनका लागि हुनसक्ने आँकलन गरिएको छ । जस्तोसुकै स्थानमा पनि सामान्य तरिकाले प्रस्तुत हुनसक्ने खुबीका कारण उनी मोदीको नजरमा परेका थिए ।

भारतीय जनता पार्टी निकट विवेकानन्द फाउण्डेशनसँग आवद्ध रही लामो समय कुशल योजनाकार बनेका उनलाई मोदीले आफ्नो रोजाइमा पारेका थिए । नेपालसँग सीमा जोडिएको उत्तराखण्डका उनी पञ्जाबलाई विभाजन गर्न खडा भएको खालिस्तानी विद्रोही दबाउँदा गुप्तचरका रुपमा महत्वपूर्ण भूमिका निभाएर चर्चामा आएका थिए । दोभाल अहिले काश्मिर पुगेर त्यहाँको सुरक्षा र भविष्यमा आउने चुनौतीको सामना गर्ने प्रतिरक्षासम्बन्धी योजना बनाउन पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । Photo Source: Manorama; Livemint



प्रतिक्रिया दिनुहोस्