काठमाडौं । भारतीय विज्ञहरुले नेपाल र भारतबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई समृद्धिमा ढाल्न विश्वासको वातावरण अनिवार्य रहेको बताएका छन् । २५ साउनमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय प्राध्यापकहरु भी.के. मलहोत्रा र राजेश खरातले विश्वासको वातावरण बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
इन्डियन काउन्सिल अफ सोसियल साइन्स रिसर्चका सदस्य सचिवसमेत रहेका प्राध्यापक भी. के. मलहोत्राले नेपाल र भारत मिलेर अगाडि बढ्न सके दुई देशले आर्थिक र सामाजिक क्षेत्रमा फड्को मार्ने बताए । उनले भने, सबैभन्दा महत्वपूर्ण आपसी विश्वास र समन्वय हो हामीसँग स्रोत र साधनको कुनै कमी छैन ।
मलहोत्राले गरिबी निवारणमा नेपाल र भारतले मिलेर जान सक्ने विषयबारे तथ्य र तथ्यांकसहित व्याख्या गरेका थिए । नेपालबाट भारतले र भारतबाट नेपालले सिक्ने र सहयोग लिनसक्ने विषयहरु रहेको बताए । नेपालमा कृषि, पर्यटन, जलस्रोतलगायतको सही सदुपयोग गर्न सके यस क्षेत्रकै भविष्य उज्ववल हुने बताए । आध्यात्मिक चिन्तनलाई महत्व दिदै त्यसले आपसी विश्वास र मेलमिलापको भावना जगाउने तर्क गरे ।
जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक राजेश खरातले नेपाल र भारतबीच विश्वासलाई अझ बलियो बनाउनुपर्ने बताए । विगतमा विश्वासमा आशंका पैदा भएको इंकित गर्दै त्यस्तो अवस्था आउन दिन नहुने बताए । भारत र नेपालबीच शिक्षा, स्वास्थ्य, कृषि, जडिबुटीलगायतका क्षेत्रमा अझ समन्वय र सहकार्य गरी अगाडि बढ्ने सम्भावना भएको बताए ।
पछिल्लो समयमा दुई देशबीचको विभिन्न क्षेत्रमा समन्वय घटेको हो कि भन्ने आशंका बढेको बताए । त्यसमा दुवैतर्फबाट कमी कमजोर भएको औल्याए । उनले भने, जवाहरलाल नेहरुमा कुनैबेला एक सय भन्दा बढी नेपाली अध्ययन गर्दथे अहिले त्यो संख्या घटेर पाँच दश जनामा सिमित भएको छ । यस्तो अवस्था आउन दिन नहुने बताए ।
रतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमारले कृषिका क्षेत्रमा दुवै देशबीच समन्वय गरी अगाडि बढ्ने सहमति विकास भएको बताए । आफू कृषि वैज्ञानिक समेत भएको उल्लेख गर्दै दुवै देशमा कृषिबाट प्रचुर लाभ लिन सक्ने सम्भावना रहेको औल्याए । शिक्षा, पर्यटन, स्वास्थ्य, जलविद्युतका क्षेत्रमा पनि अझ मिलेर जान सकिने बताए । विज्ञहरुलाई कमी कमजोरी औल्याइदिन भन्दै त्यसले दुवै देशको विकासमा सघाउ पुग्ने बताए ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालका निर्देशक डा. दीपककुमार अधिकारीले नेपाल र भारतको सम्बन्धको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पार्दै अबका दिनमा दुवै देशले परस्पर लाभ लिनसक्ने गरी वातावरण विकास गर्नुपर्ने बताए । दुवै देशको सम्बन्धको गरिमालाई अझ वृद्धि गर्न यससम्बन्धि अध्ययन र बहस जरुरी रहेको बताए । तस्वीरहरुः रिपोटर्स नेपाल डट कम