दुई महिनाको छोराको ज्यान जोगाउन एक जोडी अमेरिकीले ज्यान दिएका छन् । ३ अगष्टमा बन्दुकधारीले टेक्सासको पसलमा गरेको आक्रमणमा २४ वर्षीया जोर्डन अन्कोन्डोले दुई महिनाको बच्चालाई च्यापेकी थिइन् । गोली चल्न थालेपछि छोरालाई जोगाउन हातले च्याप्दै घोप्टो परी लुकाइन् ।
आमा र छोरा दुवैलाई छोप्न २३ वर्षीय पति आन्ड्रे अन्कोन्डोले घप्लक्क जीउले छोपेका थिए । बन्दुकधारीले अन्धाधुन्दा गोली चलाइरह्यो । शुरुमा पति अन्कोन्डो र पछि पत्नी अन्कोन्डोलाई गोली लाग्यो । तर, दुवैले छोराको जीवन रक्षाका लागि छोपिरहे । गोली लागेर दुवैको ज्यान गयो । दुई महिनाको बालक आमाको हातबाट झर्दा औंला भाँच्चियो । जोर्डनको रगत बच्चालाई समेत लागेको थियो । पाँच वर्षीया छोरीलाई छाडेर उनीहरु छोरीको विद्यालयका लागि सामान किन्न पसल गएका थिए ।
बालक छोराका लागि ज्यान गुमाएका जोर्डन र आन्ड्रेको ममताप्रति विश्व नै नतमस्तक भएको छ । बालकलाई भेट्न स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास पुगे । टेक्सास राज्यको एलपासोस्थित मेडिकल सेन्टर विश्वविद्यालयमा ज्यान गुमाएकाको जोडीको बच्चालाई मेलानिया ट्रम्पले बोकेकी थिइन् । बन्दुकधारीको आक्रमणको घटनापछि मेलानिया पति डोनाल्ड ट्रम्पका साथमा उक्त विश्वविद्यालयको भ्रमणमा पुगेकी थिइन् । अमेरिकी प्रथम महिला मेलानियाले बोकेको बच्चा २४ वर्षीय जोर्डन अन्कोन्डो र २३ वर्षीया आन्ड्रे अन्कोन्डोको छोरा हुन् ।-एजेन्सी