काठमाडौं, २७ साउन । सत्तारुढ दल समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रचार विभाग समिति सदस्य रामप्रसाद रिजालले केही दिनभित्रै आफ्नो पार्टीले संविधान संशोधनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अल्टिमेट दिने खुलासा गरेका छन् ।
सोमबार रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै नेता रिजालले संविधान संशोधनको लागि आफ्नो पार्टीले निकै लामो समयसम्म प्रतिक्षा गर्दापनि प्रधानमन्त्री ओली उक्त विषयमा गम्भिर नभएकोले अब अल्टिमेटम दिएरै अघि बढ्नेगरि पार्टीले तयारी गरेको सुनाए । उनले भने,‘भोलि हाम्रो पार्टीको पदाधिकारी बैठक बैस्दछ, प्रधानमन्त्रीलाई भेटेरै अब संविधान संशोधनको लागि अल्टिमेटम दिन्छौं ।’
उनले दशैंअघिसम्मपनि संशोधन प्रक्रिया अघि नबढे सरकारबाट पार्टी बाहिरिने जानकारी दिए । उनले वर्तमान सरकार गठन भएदेखि अहिलेसम्म विभिन्न काण्डै काण्डमा मुछिएकोले पूर्ण रुपमा असफल भएको आरोप लगाए । उनले भने,‘हाम्रो पार्टीपनि सरकारमा छ, तर सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन् । हामी संविधान संशोधन गराउने भनेर नै सरकार सहभागी भएका हौं । तर, अहिलेसम्मपनि संविधान संशोधनबारे प्रधानमन्त्री गम्भिर हुनुभएन । अब हामी भेटेरै उहाँलाई अल्टिमेटम दिन्छौं ।’
रिजालले सरकारले संविधानको मर्म र भावनाविपरित लोकसेवा आयोगको विज्ञापन ल्याएकोमा पनि आफूहरुको आपत्ति रहेको सुनाए । उनले भने,‘संविधानको धारा ४२ भाग ३ मौलिक हकमा आरक्षणको व्यवस्था गरिएको छ, तर लोकसेवा आयोगले त्यसलाई उपेक्षा गर्दै विज्ञापन ल्यायो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’
संविधानमा व्यवस्था गरिएबमोजिम आरक्षणको सुविधा पाउनुपर्ने मागसहित लोकसेवाको शान्तिपूर्ण प्रदर्शन गर्दापनि सरकारले प्रदर्शनकारीमाथि निर्घात कुटपिट तथा दमन गरेकोमा रिजालले आपत्ति जनाए । उनले भने,‘यो सरकार त अधिनायकवादतर्फ अघि बढिरहेको भान हुन्छ । यो त शाही सरकारभन्दा पनि क्रुर भयो ।’