Logo

ओली र प्रचण्डले यसै हप्ता विभागको टुंगो लगाउने



काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच यसै हप्ता विभागको जिम्मेवारी कस्लाई दिनेबारे टुंगो लगाउने सहमति भएको छ । सिंगापुरबाट स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका ओलीलाई भेट्न पुगेका प्रचण्डले बालुवाटार पुगी सहमति निकाल्ने विषय राखेका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले स्वास्थ्य अवस्थाबारे सोधेपछि विभागमा कुन कुन जिम्मेवारी कस्लाई दिनेबारे टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले यसै हप्ता सहमति बनाएर जानुपर्ने बताएका थिए । सहमति नबन्दा बाहिर गलत सन्देश गइरहेकोप्रति दुवै अध्यक्ष सचेत भएका थिए ।

विगतमा विभाग बाँडफाँडमा व्यक्तिको टुंगो नलागेपछि अध्यक्ष ओली सिंगापुर र प्रचण्ड युएईतर्फ लागेका थिए । दुवै अध्यक्ष देश बाहिर गएपछि कुरा मिल्न बाँकी संगठन विभाग र स्कुल विभागबारे पछि सहमति गर्ने तय भएको थियो । दुवै अध्यक्ष फर्किएकाले अब टुंगो लाग्ने देखिएको छ ।

विभागहरुमध्ये संगठन विभागमा वामदेव गौतमको मुख्य दाबी छ । अन्य नेताहरु पनि आकांक्षी छन् । स्कुल विभागमा इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायतको दाबी छ ।

सहमति निकाल्न २८ साउनमा अध्यक्षद्वय छलफलमा बस्ने भएका छन् । यसैलाई दृष्टिगत गरी तय भएको सचिवालय बैठक एक दिन पछाडि सारिएको छ । २९ साउनमा सचिवालय बैठक बस्दैछ । Photo File



प्रतिक्रिया दिनुहोस्

Screenshot