काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएपछि श्रीलङ्कामा आठ हजार जनालाई पक्राउ गरिएको छ । प्रहरीले सुरु गरेको विषेश कारवाही अभियानका क्रममा पछिल्ला केही हप्तामा उनीहरु पक्राउ परेका हुँन् ।
गत जुलाई ५ देखि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने विषेश अभियान देशव्यापी सञ्चालन गरेको छ ।
प्रहरीले सोमबार जारी गरेको वक्तव्यमा अहिलेसम्म ८ हजार १४७ जनालाई पक्राउ गरिएको उल्लेख छ । सवारी चालकहरुले मादक पदार्थ सेवा गरेको वा नगरेको परिक्षण गर्न देशभरीका सडकहरुमा हजारौँ प्रहरीको विषेश टोली खटाइएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २५ हजार श्रीलङ्काली रूपैँया जरिवाना हुने जनाइएको छ । श्रीलङ्कामा गत बर्ष सवारी दुर्घटनाका कारणले मात्रै तीन हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क देखिएपछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन लागेको हो ।