काठमाडौ । सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आरोहरणमा जानेहरु लाम र जामले भन्दा अन्य कारणले ज्यान गुमाउने गरेको तथ्य पत्ता लागेको छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणमा गएका १५ जनाको मृत्यु र दुईजना वेपत्ता भएपछि विश्वव्यापी चर्चा चलेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लामका कारण आरोहीको मृत्यु भएको बताएका थिए । तर, सरकारी प्रतिवेदनले उक्त दाबीलाई असत्य भनेको छ । सरकारको प्रतिवे मौसम प्रतिकुलका कारण आरोहीको मृत्यु भएको उल्लेख गरेको छ । हाई अल्टिच्युड, कमजोर शारीरिक अवस्था, आकस्मिक मुर्छा आदि कारणले मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बढी जाम भनिएको मे २२ मा एक जनाको मृत्यु भएको बताइएको छ । लामको कारण उल्लेख गर्दै मे २२ मा मौसम अनुकुल रहे पनि केही समय अगाडि आएको फानी नामको आँधीले उक्त क्षेत्रमा हिमपात भई डोरी टाँग्ने काम प्रभावित भएको बस्नका लागि बनाइएको १९ वटा टेन्ट उडाएको र आरोहीहरु बस्न नसकी आधार शिविर फर्केका कारण त्यस दिन सगरमाथा आरोहणमा धेरै जनाको लाइन देखिएको बताइएको छ ।
सगरमाथाको आठ हजार भन्दा माथि आरोहण गर्ने १५ जना आरोहीको मृत्यू भएको थियो भने अझै दुई जना हराइरहेका छन् । सगरमाथा आरोहणको अनुमति धेरैलाई दिइँदा जाम परेको विषय आएको थियो । प्रतिवेदनमा जामका कारणवाट आरोहीहरुको मृत्यु भएको विषय तथ्यले पुष्टि गर्न नसकिने उल्लेख छ ।
दुर्घटनाको कारण
सगरमाथाको आरोहरणका क्रममा एकैपटक १५ जनाको मृत्यु र दुई वेपत्ताको विषय विश्वभर चासोमा पर्यो । मे २२ र २३ मा मौसम सुधार भएपछि धेरै आरोहीहरु एउटै समयमा सगरमाथाको टुप्पोमा जाने क्रममा पर्खनुपरेको थियो ।
सन् २०१९ को बसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ दल मार्फत ३८१ जना आरोही र ६४२ जना सहयोगीलाई पर्यटन विभागले अनुमति दिएको थियो । तर, २८० जना आरोही र ३६४ जना सहयोगीले सफल आरोहण गरेका थिए । नेपालको हिमाल आरोहणको विगत पाँच बर्षको तथ्यांक अनुसार सन् २०१५ मा २१ जना, २०१६ मा १२, २०१७ मा ९, २०१८ मा २५ र सन् २०१९ मा १७ जना आरोहीको मृत्यु भएको छ । सन् २०१८ मा २०१९ को भन्दा बढीको मृत्यु भएको थियो । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा सहितका विभिन्न हिमालमा गरी ९६१ जनाले आरोहण गरेका थिए ।
सगरमाथामा दुर्घटना हुन नदिन शतर्कता अपनाउन सुझावहरु तयार गरिएको छ । हिमाल आरोहणका लागि सुझाव समितिले नीतिगत, संरचनागत र कार्यविधिगत सुधार गर्न सुझाव दिएको छ । एक दिनको आरोहण योजना बनाउँदा आरोहीको संख्या १५० हुनुपर्ने, आरोहणको मापदण्ड निश्चित हुनुपर्ने, हिमालको अवस्था, संवेदनशिलता, जोखिमलाई ख्याल गरी वैज्ञानिक मापदण्ड अवलम्बन गर्नुपर्ने सुझावमा उल्लेख छ । यसैगरी, आठ हजार भन्दा माथिका हिमाल आरोहणको जिम्मा एजेन्सी स्थापना भई आरोहणका कार्य व्यवस्थापन गर्न थालेको तीन बर्षपछि मात्र गर्न दिने, एजेन्सीलाई पर्यटक तथा आरोहीको खोजी,उद्धार र उपचारको प्रबन्ध गर्न निश्चित रकम बैंक ग्यारेन्टी राख्न लगाउने जस्ता सुझाव समितिले दिएको छ ।