समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीको ३२ विभागको टुंगो लगाउँदा वाजी मार्ने नेता थिए वामदेव गौतम । वरियतामा पाँचौं स्थान पाउँदै उपाध्यक्ष बनाउने निर्णय भयो । शक्तिशाली मानिएको संगठन विभागको जिम्मेवारी उनैले पाए । किसान महासंघ विभागको प्रमुख पनि वामदेव नै भए ।
वामदेवले महत्वपूर्ण पद पाउनुमा उनले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मालाई एक वर्षयता कडा चुनौती दिनु मुख्य कारण थियो । वामदेवको चुनौतीका कारण पार्टीभित्र ओली कमजोर हुँदै गएका थिए । अहिले वामदेवलाई चित्त बुझाउने गरी महत्वपूर्ण जिम्मेवारी दिएर चुप लगाउन सके ।
बर्दियामा चुनाव लड्दा आफूलाई हराउन अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको गुनासो वामदेवको थियो । उनलाई चुनाव हराउन भूमिका खेल्नेमा महेश बस्नेतको नाम अगाडि आएको थियो । अहिले तिनै बस्नेतले ओलीको उत्तराधिकारी वामदेव रहेको चर्चा चलाए । ओलीपछि प्रचण्ड नभई वामदेव प्रधानमन्त्री बन्ने बताएर नेकपाभित्र तरंग ल्याइदिए । उनले भनेजस्तै ओलीले वामदेवलाई साथ ल्याएर पल्लाभारी बनाएका छन् ।
वामदेवलाई तीनवटा जिम्मेवारी दिंदा अध्यक्ष प्रचण्ड समेत समर्थनमा देखिए । ओलीले वामदेवलाई महत्वपूर्ण पद दिएर एक तीरबाट दुई शिकार गरे । एक, वामदेवलाई प्रचण्डको नजिकबाट तानेर आफू नजिक बनाए । दुई, प्रचण्डलाई समेत वामदेवलाई तीनवटा पद दिंदा विरोध गर्न नसक्ने बताइदिए । ओलीले यस अर्थमा चार्तुयता देखाए ।
ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । साँढे दुइ वर्ष कार्यकालपछि प्रधानमन्त्री बन्न तम्तयार भइसकेका प्रचण्डलाई चुनौती दिनका लागि वामदेव तयार गरिएका छन् । वामदेव नेकपाका प्रभावशाली नेताहरुमध्ये एकमात्र प्रधानमन्त्री बन्न नसेका नेता हुन् । ओली बालवाला प्रधानमन्त्री हुन्, प्रचण्ड दुईपटक प्रधानमन्त्री बनिसके । माधवकुमार नेपाल र झलनाथ खनाल पनि प्रधानमन्त्री बनिसके । वामदेवमा प्रधानमन्त्री बन्ने उत्कट चाहना देखिदैछ ।
पाचौं वरियताका वामदेवमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षा छ । यसैलाई मध्यनजर गरी ओलीले गतिलो कार्ड तयार गरेका छन् । प्रभावशाली नेता आफ्नो साथमा ल्याउन ओलीका लागि ठूलो सफलता भएको छ । यसले उनलाई राजनीतिमा लामो दौडको घोडा बनाउने सम्भावना देखिदैछ ।