काठमाडौं, ३२ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा आज यहाँ आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने बताए।
उनले विगत सुखद नरहेको प्रसङ्ग उल्लेख गर्दै अस्थिरता र द्वन्द्वले मुलुकको विकास नभएकाले अब युवा राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिए। उनले युवालाई उद्यमशीलतासँग जोड्न प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको जानकारी दिँदै युवालाई समाजप्रति जवाफदेही बनाउन र १० वर्षमा वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न विनियोजित रकमले मद्दत पुग्ने बताए।