Logo

प्रचण्ड र माधव नेपालबीच गोप्य भेटवार्ता



काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालबीच आज गोप्य भेटवार्ता भएको छ । वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा शनिबार बिहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टीभित्र वरीयताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको बताए ।

बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ । सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ ।

यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन् । अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सह-इञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ ।



प्रतिक्रिया दिनुहोस्