Logo

‘काङ्ग्रेस सरकारका पालामा बढी भ्रष्टाचार भयो, अब खरायोको गतिमा काम हुन्छ’



काठमाडौं, ३२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षदेखि सरकारले आफ्नो कामलाई तीव्रगतिमा अघि बढाउने स्पष्ट पारेका छन् । प्रेस सङ्गठन पर्वतले शनिबार साँझ गरेको पत्रकार भेटघाटमा सञ्चारमन्त्री बाँस्कोटाले गत वर्षसम्म संविधान कार्यान्वयन र विभिन्न ऐन कानून बनाउनका लागि सरकारले समय खर्चिएको बताउँदै अब हरेक क्षेत्रमा तीव्ररूपमा काम हुने बताएका हुन।

मन्त्री बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक तुल्याउनका लागि पनि अब कछुवाको गतिमा होइन, खरायोको गतिमा काम हुने बताए । विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्ने गरी सरकार लागिरहेको बताउँदै उनले अब कुनै पनि क्षेत्रमा सञ्चालित आयोजनाबिना अवरोध द्रुतगतिमा सम्पन्न गर्ने गरी सरकारले योजनाबद्ध ढङ्गले अघि बढ्न लागेको बताए ।

मन्त्री बाँस्कोटाले भने, “कुनै पनि काममा ढिलासुस्ती गर्ने छुट अब रहँदैन ।” उनले दुईतिहाइ बहुमतको यो सरकारलाई जनताले माफी नदिने बताउँदै विगतमा नेपाली काङ्ग्रेसले बिगारेको ‘सिष्टम’ सम्हाल्नै दुई वर्ष लागेको बताए ।

“अब मुलुक पूरै विधि र प्रणालीबाट अघि बढ्छ”, उनले भने । अहिलेसम्म सरकारका गतिविधि सन्तोषजनक रहेको बताउँदै उनले बाँकी तीन वर्षमा तत्कालीन चुनावअघिको घोषणालाई पूरा गर्नेगरी काम गरिने बताए ।

मन्त्री बाँस्कोटाले दुईतिहाइको सरकार देखेर काङ्ग्रेस अत्तालिएको दाबी गरे । उनले सरकारलाई अनेक लाञ्छना लगाएर काङ्ग्रेसले जनतामा भ्रम सिर्जना गरेको बताउँदै हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काङ्ग्रेसकै नेतृत्वको सरकारका पालामा मुलुकमा बढी भ्रष्टाचार भएको बताए । उनले पछिल्लो समय धमाधम भ्रष्टाचारीहरु समातिन थालेको बताउँदै अख्तियारलाई सक्रिय बनाइएकाले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए । रासस 



प्रतिक्रिया दिनुहोस्