Logo

घेराबन्दीमा प्रचण्ड, कसरी तोड्लान् ?



समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकताका लागि तत्कालिन नेकपा एमालेसँग माओवादी पार्टीलाई जोडे । उनका निकटस्थले समेत माओवादी पार्टीको विलय गराएको भनी आलोचना गरे । शक्तिशाली पार्टीको अध्यक्ष बन्ने महत्वाकांक्षाभित्र तेस्रोपटक प्रधानमन्त्री बन्ने चाहना समेत अन्र्तनिहित थियो ।

तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भित्री सम्झौता गरी आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति पनि गरे । जसको खुलासा उनी स्वयंले गरिसके । अब उनलाई त्यो सहमति पालना होला नहोला ? यसले पिरोलेको छ । त्यसैले ३२ साउनमा पीडा पोख्दै पार्टी एकता गरेर पश्चात्ताप लाग्न थालेको बताउन थालेका छन् ।

प्रचण्ड अहिले चौतर्फी घेराबन्दीमा परेका छन् । नेकपाभित्र महत्वपूर्ण जिम्मेवारी बाँडफाँड गर्दा पूर्व एमाले र पूर्व माओवादीको किटान नै भयो । महत्वपूर्ण विभागहरु सबै पूर्व एमालेको हातमा गयो । पदकै लागि उनले भरोसा गरेका वामदेव गौतम ओलीको नजिक भइदिए । यसअघि उनी प्रचण्डका नजिक भइसकेका थिए । यतिसम्मकी उनी निकट मानिएका केही पूर्व माओवादी नेताहरु ओलीसँग नजिकिएका छन् । यस अर्थमा प्रचण्ड कमजोर बन्दै गएका छन् । उनीमाथि पूर्व एमालेको घेराबन्दी चुनौतीपूर्ण बन्दै गएको छ ।

प्रचण्डलाई हेगको अन्तर्राष्ट्रिय अदालतमा फैजदारी मुद्दा लगाउने प्रयास भइरहेको छ । त्यसमा मानवअधिकारवादी संघसंस्था लागेका छन् जसको नेतृत्वमा पूर्व एमाले नजिकहरु छन् । युद्धअपराधको अभियोगमा हेग लाने चुनौती दिनेहरु पूर्व लडाकु हुन् जसलाई त्यस्ता मानवअधिकारवादी संघसंस्थाको साथ मिलेको छ । यसले प्रचण्डलाई झस्काएको छ । विदेशयात्रा गर्न समेत डराउनुपर्ने अवस्था परेको छ ।
प्रचण्डविरुद्धको प्रचारवादी कठोर बन्दै गएको छ । विदेश जाँदा अरबौं पैसा व्यवस्थापनका लागि पुगेको चर्चा चल्यो । उनको सचिवालयले विज्ञप्तिनै निकालेर खण्डन गर्नुपर्यो । यसमा को को संलग्न भए भनेर खोज्दा प्रचण्ड फेरि झस्किएका छन् । यसमा आफ्नै दलका मानिसहरु लागेको रिपोर्ट प्रचण्डसम्म पुगेको छ ।

घटनाक्रम यसरी विकसित हुँदैछ कि प्रचण्डले भविष्यमा प्रधानमन्त्री बन्ने महत्वाकांक्षामा ठूलो चुनौती बन्ने देखिएको छ । यसमा पूर्व एमालेका प्रभावशाली नेताहरुले रणनीति तयार गरेर बढिसकेका छन् । प्रचण्डका लागि अबको छ महिना निकै कठिन हुने देखिदैछ । नेकपाभित्रको आन्तरिक शक्तिसंघर्ष जटिल बन्दै जाँदा प्रचण्ड कस्तो रणनीतिका साथ प्रस्तुत हुन्छन् त्यसले उनको राजनीतिक भविष्य निक्र्यौल गर्छ ।

घेराबन्दीलाई तोड्नुबाहेक प्रचण्डसँग विकल्प छैन । त्यसलाई तोड्ने क्रममा नेकपाको एकता समेत धरमराउन सक्छ । कुनैपनि बेला आश्चर्यजनक निर्णय लिने प्रचण्डले आफ्नो राजनीतिक भविष्यका लागि अप्रीय नै किन नहोस् निर्णय लिएरै छाड्छन् । यो उनको राजनीतिक चरित्र र विशेषता दुवै हो । जसले उनलाई बन्दुकबाट ब्यालेट हुँदै वर्तमानसम्म पुर्यायो ।



प्रतिक्रिया दिनुहोस्