Logo

दिनहुँ प्रदर्शन बढ्न थालेपछि चितवनमा निषेधित क्षेत्र घोषणा



चितवन, २ भदौ। जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, तथा नर्स अस्मिता कार्कीसहित तीन जनालाई रिहाईको माग गर्दै दिनहुँ प्रर्दशन बढ्न थालेपछि प्रशासनले यस्तो घोषणा गरेको हो ।

चौबिसकोठीदेखि मालपोत चोकसम्म अस्पताल, अदालत, प्रहरी कार्यालयलगायतका कार्यालयहरु रहेकाले सुरक्षा संवेदनशीलताको कारण निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ । निषेधित क्षेत्रमा प्रदर्शन तथा समुह बनाएर बस्न समेत नपाइने प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको समेत जानकारी दिए । यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्