Logo

नेपालले अब द्रुत गतिमा आर्थिक विकास गर्दछ : प्रधानमन्त्री ओली



काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका छन् । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताए । “अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं” प्रधानमन्त्री ओलीले भने “यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संसोधन गर्छौं ।”

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताए । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् । “यो राइनो हैन गैंडा हो गैंडा” प्रधानमन्त्री ओलीले भने “यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।”

नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमालमध्ये धेरै वटा नेपालमै रहेको बताए । नेपाललाई विश्वमै सुन्दर देश भनिने गरेकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाल सुन्दर मात्र होइन, प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो” प्रधानमन्त्री ओलीले भने “यीनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्र गतिमा अघि बढाउनुपर्दछ ।”

प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनुपर्र्नेे प्रधानमन्त्री ओलीको धारणा छ । “हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन् ” प्रधानमन्त्री ओलीले भने । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्