Logo

मृगौला प्रत्यारोपण र प्रधानमन्त्रीको स्वास्थ्य



काठमाण्डौ । प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गरेर फकिएको एक हप्ता मात्रै भएको छ । तर फेरी अर्को साता स्वास्थ्य परीक्षणकै लागि विदेश जाने चर्चा सुरु भएको छ ।

यसले ओलीको स्वास्थ्य कस्तो छ भन्नेमा चिन्ता बढेको छ । १२ वर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका कारण पनि प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर विषय बनेको हो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थासँग देश र जनताको चासोको विषय हो । प्रधानमन्त्री आफैंमा व्यक्ति होइन । संस्था हो । तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य नरहेको संकेत देखिएको छ । त्यसो त ओलीले आइतबार मात्रै संसदमा लामो सम्बोधन गर्नुभयो ।

त्यसअघि पनि विभिन्न कार्यक्रममा सहभागि हुनुभयो । यद्यपी सिंगापुरमा उपचार सकेर फर्किलगत्तै बस्ने भनिएको नेकपा सचिवालय बैठकमा भने ओली अस्वस्थ भएका कारण उपस्थित हुन नसक्दा विभिन्न आशंका उब्जियो । यता ओलीले भने अस्वस्थ भनेको भोलीपल्ट नै वालुवाटारमा सम्पन्न भेटघाट कार्यक्रममा आफूलाई अझै २५ वर्ष केही नहुने भनेर आश्वस्त पार्नुभयो ।

यि घटनाक्रमकाबीच फेरी एकाएक एक हप्ताभित्र नै फेरी स्वास्थ्य परीक्षणका लागि सिंगापुर नै जाने भन्ने चर्चा सुरु भयो । छाटो समयको अन्तरमा दुई पटकसम्म स्वास्थ्य उपचारका लागि विदेश जानुपर्ने अवस्था आएको हो भने यो सामान्य विषय होइन । तर सबैको चासो विषय रहेको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे औपचारिक रुपमा जानकारी दिइएको छैन ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गर्नुभएका ओलीको स्वास्थ्य अवस्थाबारे चासो हुन स्वभाविक नै हो । मृगौला रोग विशेषज्ञका अनुसार मृगौला प्रत्यारोपणपछि कति वर्ष आयु हुन्छ भनेर भन्न सकिदैन । चिकित्सक पुकारचन्द्र श्रेष्ठले आफूले मृगौला प्रत्यारोपण गरेको व्यक्ति ४३ वर्षसम्म स्वस्थ रहेको देखेको उदाहरण दिए ।

मृगौला प्रत्यारोपण गरेको जोकोहीले नियमित औषधि सेवन गर्नुपर्छ । त्यति मात्रै होइन, स्वास्थ्य अनु्शासनमा बस्न सक्नुपर्छ । मृगौला प्रत्यारोपणपछि सामान्य रोगले पनि छिटै संक्रमण गर्ने भएकाले नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ । मृगौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराउँदै आउनु भएको छ । प्रधानमन्त्री भएपछि चिकित्सकले भनेजसरी आराम गर्न त सम्भव नहोला । तनाव र धपेडी प्रधानमन्त्रीको स्वास्थ्यका लागि बाधक हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot