Logo

सर्वदलीय बैठक सकियो : यस्तो भयो छलफल



काठमाण्डौ, ३ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज बसेको सर्वदलीय बैठक सकिएको छ । साँझ बालुवाटारमा बसेको बैठकमा महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । बैठकपछि संचारमाध्यमलाई नेताहरुले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा छलफल भएको छ । नेकपा नेता नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षा कायम गर्ने विषयमा दलका नेताहरुले चासो राखेको बताए ।

त्यसैगरी संघीयता कार्यान्वयनको विषयमा पनि गहन छलफल भएको श्रेष्ठले बताए । विभिन्न विधेयकहरुमा देखिएको विवादका विषयमा पनि छलफल भएको थियो ।आजको छलफल निकै फलदायी भएको नेताहरुले बताएका थिए ।

त्यसैगरी संविधान कार्यान्वयनमा सबै दल एकजुट हुनेपर्ने विषयमा पनि छलफल भएको थियो । त्यसैगरी प्रधानमन्त्री केपी ओलीले आफू स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको जानकारी गराएका थिए ।

सर्वदलीय बैठक भोली ५ बजे फेरी बस्ने भएको छ । बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल सहभागी थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी थिए । यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी थिए ।सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा गएनन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot