काठमाडौं । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसीले सुसाइड नोटसहित सिंहदरबारभित्र आत्महत्या गर्नुमा उनीमाथि लागेको गम्भीर अभियोग कारण देखिएको छ । परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागमा छँदा १७ जना बँगलादेशी नागरिकलाई राहदानी दिलाएको अभियोगमा पक्राउ परेका थिए ।
उनीमाथि विदेशीलाई राहदानी दिलाएको अभियोगमा दायर मुद्दामा जिल्ला अदालतले दोषी ठहर्याएको थियो । त्यसपछि निकै तनावमा रहेका उनले कार्यालयमै पुगेर आत्महत्याको बाटो रोजे । कुनैबेला राजदरबारका कर्मचारी उनको शान र मान थियो । राजसंस्थाको अन्तपछि दरबारमा भान्छे रहेका उनको राजप्रासाद सेवाबाट परराष्ट्रतर्फ सरुवा भयो ।
केसी आफूमाथि लागेको अभियोगका कारण निकै तनावमा रहेको परिवारले जनाएको छ । ३ भदौमा घटनास्थलमा उनको परिवार समेत पुगेका थिए । सिंहदरबार परिसरभित्र कर्मचारीको आत्महत्या धेरैको चासोमा पर्यो । पछिल्लो समय भ्रष्टाचार र गैरकानुनी कार्यमा अभियोग लागेका कर्मचारीहरुको आत्महत्याको घटना वृद्धि हुँदा केसीको आत्महत्यालाई गम्भीरताका साथ लिनुपर्छ ।
तस्वीरहरुः मुकुन्द कालिकोटे