काठमाडौं । काश्मीरको बारेमा भारतले लिएको निर्णयपछि उसको छिमेकी देखि अन्य शक्तिहरुले धारणा सार्वजनिक गरिरहेका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकर ढाका पुगेर फर्किएलगत्तै बँगलादेशले पनि २१ अगष्टमा काश्मिर मामलामा आफ्नो अडान स्पष्ट पारेको छ ।
बँगलादेशले काश्मिर भारतको कदमलाई उसको आन्तरिक मामला भनेको छ । जुन भारतको पक्षमा गएको छ । मालदिभ्सले पनि यस्तै धारणा बनायो । अफगानिस्तानले पनि आन्तरिक मामला भनिदियो । सार्क राष्ट्रहरुमध्ये नेपालबाहेकको देशको धारणा बाहिर आइसकेको छ । अब नेपालको मात्र बाँकी छ ।
नेपालमा पनि भारतीय विदेशमन्त्री जयशंकरको भ्रमण भएको छ । उनले काश्मिरको बारेमा नेपालको धारणा बाहिर आओस् भन्ने चाहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै उनले भनेपछि नेपालले मौन रहने सम्भावना कम बनेको छ ।
मुस्लिम बाहुल्यको बंगादेश समेत बोलिसकेको छ । भारतसँग धार्मिक र सांस्कृतिक समानता बोकेको नेपालले नबोल्दा बाह्य जगतमा सकारात्मक सन्देश नजाने बुझेर भारतले नेपालको धारणा ओस् भन्ने चाहेको बुझिएको छ ।
विगतमा नेपालले काश्मिर मामलामा भारतलाई समर्थन गर्दै आएको थियो । भारतको आन्तरिक मामला मात्र नभनी समर्थन नै गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री डा. के आई सिंहले जोड दिएका थिए । यसपटक केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनले मौन रहने वा धारणा बाहिर ल्याउने स्पष्ट भएको छैन । नेपाल सार्कको अध्यक्षराष्ट्र भएकाले पनि बोलिहाल्न अप्ठ्यारो भएको कतिपयको विज्ञहरुको धारणा रहेको छ । तर, भारत आफ्नो नजिकको मित्रबाट धारणा चाहिरहेको छ । यसले नेपालका अधिकारीहरुलाई अप्ठ्यारोमा पारेको हुनुपर्छ ।