काठमाडौं, ५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला पुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको अनुगमन गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नति गरिने बताए । मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी तथा पर्यटक सुविधाविहीन भएकाले विमानस्थलको स्तरोन्नतिमा ढिला नहुने उनको भनाइ छ ।
विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्न सक्ने गरी स्तरोन्नति गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने उनको भनाइ छ । तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा विस्तार गर्दै लगिने उनले बताए ।
मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ । नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध छ । साताको सोमबार, बुधबार र शनिबार उडान गर्ने नेपाल वायु सेवा निगमको नियमित कार्यतालिका छ ।