Logo

रवि लामिछानेका दाईले भने : “भोलि फूलमाला लगाएर मेरो भाई निस्किन्छ”-(भिडियोसहित)



काठमाडौं, ६ भदौ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । उनको पक्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको छ । र, आवाज पनि पक्ष र विपक्ष दुवैमा उत्तिकै बुलन्द बनेका छन् । एकथरीले रविलाई व्यक्तिगत रिसिईबी साँध्नको लागि फसाउने प्रपञ्च रचिएको र सोहीअनुसार षड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् भने अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घट्नाको अनुशन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकार्षण गराएका छन् । यो प्रकरणलाई लिएर अहिले संसदमा समेत आवाज उठेका छन् । त्यतिमात्रै होईन, यो प्रकरणमा जनमत विभाजित छ । आत्महत्या गरेका पत्रकार पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्छ भन्ने आवाज पनि सशक्त बन्दै गएको छ । उता, लामिछानेको परिवारले यो प्रकरणमा रविलाई फसाउन खोजेको दाबी गर्दै आएको छ ।

रविका दाजु हरिशरण लामिछाने, जो चर्चित रेडियो पत्रकार हुन । उनले भाई रविलाई अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको सुनाए । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरुले रविको पक्षमा नारावाजी गनुपर्छ भनेर हुलहुज्जत वा समर्थकहरु जम्मा नगरेको पनि जिकिर गरे । तर, रविको पक्षमा स्वतस्र्फूत सडकमा आएका समर्थकहरुको आफ्नो अधिकारको कुरा भन्दै उनले प्रदर्शन नगर वा सडकमा नआउ भनेर कसरी भन्न सकिन्छ ? भन्दै प्रश्न तेर्साए ।

रोचक त के भने ? हिजो बुधबार राति धमलाको कार्यक्रममा रविको परिवारले यो प्रकरणमा दोषी भन्दै किटानी जाहेरी दिन खोजेका नेपाल प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको अन्तर्वार्ता प्रशारण भएको भोलिपल्टै रविका दाई हरिशरण सोही कार्यक्रममा आएका छन् । कार्यक्रमको सुरुवातमै पत्रकार धमलाले हरिशरणलाई तपाई रविजीको नामबाट चिनिन चाहन्छु कि तपाईको आफ्नै पहिचान छ हाम्रो देश नेपालमा ? भनेर खरो प्रश्न तेर्साए । जवाफमा लामिछानेले भने,“पहिचान त फरक फरक नै होला । अब दाजुभाई हो । यो पारिवारिक कुरा हो ।”

आफूलाई हरिशरण र रविको दाजु दुवै किसिमले आम मानिसले चिन्ने गरेको पनि उनले स्पष्ट पारे । धमला यत्तिमा रोकिएनन् ? उनले फेरि प्रश्न सोधे–तपाई भरतपुर जानुभयो, त्यहाँका जनताले कसरी चिने ? यो प्रश्नको जवाफमा लामिछानेले भने, “उहाँहरुले एक्ससेप्ट गर्नुभएन, विद्याको हिसाबले रविलाई टेलिभिजनको सेटमा देखिरहेको, अब कतिपय मान्छेले ए होईन पो कि पनि भने । त्यो अब स्वभाविक छ ।”

धमलाले तपाई आज रविजीको पक्षमा उभिनुभएको छ, किन ? भनेर सोधे । लामिछानेले आफू रविको पक्षमा उभिनु नैतिक दायित्व भएको सुनाए । उनले भने,“आफ्नो भाई कुनै किसिमको मुद्दा, मामिलामा फसिसकेपछि, त्यो हेर्नु एउटा अभिभावकको कर्तव्य हो ।”

धमलाले तपाईको भाई गम्भिर मुद्दामा फस्नुभयो भनेर सोधेको प्रश्नमा उनले फसेको भन्दापनि गम्भिर बनाउन खोजिएको टिप्पणी गरे । उनले शालिकराम पुडासैनीले आत्महत्या गर्नुपनि गम्भिर भएको सुनाए । उनले थपे,“तर, जुक प्रकृतिबाट मुद्दा अघि बढाउन खोजियो, त्यो पनि गम्भिर हो ।”

यो प्रकरणमा रविको कुनै हात नरहेको जिकिर गर्दै उनले यसमा रविको हात छ भनेर जबरजस्ती गर्न खोजिरहेको पनि दाबी गरे । उनले भने,“शालिकरामले रविको संलग्नताको कुरा गर्यो, उसले रविको राम्रो पनि कुरा गरेको छ । नराम्रो पनि कुरा गर्या छ । नाम उसको मुछियो । आरोप लाग्यो उसलाई । तर, अहिलेपनि अनुशन्धान भैरहेको छ । जुन भिडियो बाहिरि निस्कियो, उसले रेकर्ड गरेको एउटा सर्टेशन पोर्सनमात्रै बाहिरि आएको छ । लिक भएको छ । उसले चार बजेदेखि ६ बजेको अवधिमा, हामी अहिले आएको १३ मिनेटेको भनिएको भिडियोलाई मान्दैनौं ।”

अनुशन्धानको दौरानमा विभिन्न मानिसहरु संलग्न रहेको सुनाउँदै हरिशरणले आफ्ना सूत्रले बताएअनुसार शालिकरामले झण्डै दुई घण्टाको अवधिसम्म भिडियो रेकर्ड गराएको छ । उनले सुनाए,“त्यो रुममा बसेर उसले पटक–पटक गरेर भिडियो बनाएको छ । अहिले बाहिर सार्वजनिक भएको भिडियो त त्यसको एउटा पोर्सनमात्रै हो ।”

बाहिर आएको १३ मिनेटको भिडियो त एउटा भागमात्रै भएको उनको दाबी छ । उनले भने,“उसले आरोप लगाउँदा नाम लियो । रविले अहिले मलाई लखेट्दै गएर चितवन लगेर, त्यहाँ रुममा लगेर झुण्डिन बाध्य बनायो त भन्या छैन नि । कुनै सन्दर्भमा उसले रविको नाम लियो । होईन, उसले अरुको पनि नाम लिएको छ ।”
शालिकरामले भिडियोमा रविको नाम लिएकोले संलग्नता देखिएपनि पुष्टि हुनुपर्ने बताए । उनले भने,“त्यो एउटा आधार हुनसक्छ, तर प्रमाण हुन सक्दैन् । सँगै काम गर्दा मनमुटाव भयो होला । त्यो त एउटा स्वभाविक प्रक्रिया हो ।”

पछिल्लो समय रविसँग लिईएको बयान र रविसँगै थुनिएका अन्य दुई जनाको पनि बयान लिने काम भएको सुनाउँदै यो प्रकरणमा रविको खासै संलग्नता नदेखिएको कुरा आफूहरुको प्रारम्भिक जानकारीमा आईसकेको पनि हरिशरणको दाबी छ ।

तर, कानूनको हबला दिएर जसले पनि दुःख दिनसक्नेतर्फ पनि उनले ध्यानाकार्षण गराए । देशमा न्याय नमरेको उनको विश्वास छ । उनले भने,“देशका न्यायमूर्तिहरुले भोलि भन्नुहुन्छ की रवि क्लिन छ कि छैन भनेर, म त पूर्ण विश्वस्त छु, भोलि फूलमाला लगाएर मेरो भाई निस्किन्छ ।”

उसो भए तपाईहरुले अहिले किन जुलुश निकाल्नुभएको त ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले आफूहरुले अदालतलाई दबाब नदिएको स्पष्ट पारे । उनले अघि प्रष्ट्याए,“होईन, विश्वसनीय वातावरण किन बनेन ? त्यो प्रतिप्रश्न गरौं न हामी । म जुलुशमा गईँन् । मैले एकचोटी अदालत परिसरबाट बाहिर निस्किँदा दुई पटक मैले आफ्ना सार्वजनिक कराहरु राखेको हो । जुलुक स्वतस्र्फूत गएको छ । त्यसमा मेरो व्यक्तिगत संलग्नता छैन् ।”

आफूहरु विधिको शासन र कानूनी राज्यको पक्षमा रहेको पनि उनले पटक–पटक विश्वास दिलाए । रविले सुरुवातमै यो प्रकरणमा प्रहरी प्रशासनलाई अनुशन्धानको लागि आफ्नो पूर्ण साथ र सहयोग रहन्छ भनेर बोलेको पनि उनले सुनाए । उनले भने,“रविले त एडभान्समै भनेको थियो कि यो धरपकड गर्नै पर्दैन्, कहिले बोलाउनुहुन्छ म त्यही दिन आउँछु भनेको थियो । मानिसहरु पनि जुलुशमा किन आएका छन् ? भन्ने कुरा यसमै केन्द्रित छ । रविलाई दोषी वा निर्दोष कवुल गर्ने कुरा त एउटा प्रक्रियामा गैसक्यो । उसको अनुशन्धान भैरहेको छ ।”

उनले भीडतन्त्रले सचेत गराउनसक्ने पनि औंल्याए । उनले थपे,“आम मान्छेले के भनेका छन् भने यो सबै रविलाई फसाउने प्रपञ्चभित्रको हो भन्ने कुरा चाहीँ उहाँहरुको मनमा परेको छ ।” यो प्रकरणमा अनुशन्धान कतातिर केन्द्रित छ ? यसबाट आफूहरुलाई आशंका पैदा भएको पनि हरिशरणले सुनाए । उनले भने,“अनुशन्धान कता केन्द्रित हुनुपर्र्छ भन्नेबारे हामी चाहना त राख्न सक्छौं, तर अदालतलाई हामी प्रभाव गर्न सक्दैनौं ।”

                      पत्रकार धमलासँगको अन्तर्वार्ताको क्रममा रविका दाई हरिशरण लामिछानेले बोलेका कुरा उनकै शब्दमा  

मैले एउटा पारिवारिक अभिभावको नाताले यो प्रकरणमा निश्पक्ष छानबिन होस भनेर भनेको छु । अहिले सर्वसाधरणमा जुन किसिमको आक्रोश आएको छ, त्यसको पृष्ठभूमी र मनोविज्ञानपनि राज्यले बुझ्न जरुरी छ । व्यक्तिको कुरा होईन । रवि लामिछाने आम जनताको भावनाबाट निर्देशित छ । गणतन्त्रको विरोध गर भनेर हामीले भनेका छैनौं । त्यो त प्रशासनले नियन्त्रण गर्ने कुरा हो । त्यो त उनीहरुको राईट्सको कुरा हो । हामीले जुलुश आउ भनेका छैनौं ।

देशको सिष्टमको विरोधमा कोही पनि जान मिल्दैन् । आज मलाई पनि प्रश्न छ । सायद केही जनताहरु यो व्यवस्थाप्रति सन्तुष्ट भएनन होला र त यसको विरोधमा नारा लाए । हामीले भनेर कसैले नारा लाउँछ र ? रवि लामिछाने भनेको जल्दोबल्दो मिडिया पर्सन हो । कुनैपनि निकायहरुसँग निडर र निश्पक्ष भएर वकालत गर्ने एउटा व्यक्ति रवि । उसको कारणले सबैलाई गाह«ो पनि परेको छ । कतिपय ठाउँमा भ्रष्टाचारको विरोधमा बोलेको छ । अन्याय र अत्याचारको विरुद्धमा बोलेको छ ।

रविले आर्थिक लेनदेन लिएको भन्ने कुरामा प्रमाणित होला नि । सार्वजनिक पदमा बसेको छ । मानौं देशमा राजनीतिक नेतृत्वमा प्रश्न आएको छ । प्रशासनमा प्रश्न आएको छ । विभिन्न अरु प्राविधिक पक्षहरुमा प्रश्न आएका छन् । किन काम भएन ? किन जनताको भावनाअनुसार काम भएनन ? बारम्बार हामी जनताहरु किन ठगियौं ? भन्ने प्रश्नहरु त आएका छन् नि । रविलाई आत्महत्यामा नै प्रेरित भनेर नै आईसकेपछि अरु आरोप त आउने नै भएनी । तर, ती आरोपहरु प्रमाणित हुनुपर्छ ।

कामको सिलसिलामा यदि कुनै किसिमको सौदावाजीहरु गरेको छ भने त्यसको भण्डाफोर गर्नुपर्छ । किशोर श्रेष्ठले रविको भण्डाफोर गर्छु भन्नुभएको हो भने त्यसको भण्डाफोर गर्नुपर्छ । किशोर श्रेष्ठजीलाई त्यो छ….तर, जहाँसम्म किशोर श्रेष्ठजीको नाम जोडियो । मैले हिजो उहाँको अन्तर्वार्ता पनि हेरें । मैले संक्षिप्तमा हेरें । मैले धेरै हेरिन् । तर, के देखिन्छ भने व्यक्तिगत रुपमा उहाँहरुका बीचमा (रवि र किशोर श्रेष्ठ) का बीचमा लामो जुहारीको श्रृंखला छ । तैंले सके मलाई र मैले सके तलाईं सिध्याउने भन्ने छ । किशोर श्रेष्ठ र रवि लामिछानेको बीचमा अहिले वाकयुद्ध छ । आरोप–प्रत्यारो छ । अहिले यी दुवै जनाले एकले अर्कोलाई खनतलासी गरिरहेका छन् । त्यो अर्कै पाटो हो । अहिले के रवि लामिछानेलाई शालिकराम पुडासैनीको आत्महत्याको दुरुत्साहनमा प्रष्ट खरो रुपमा देखिने अनुहार, त्यो भिडियो सम्भावना होईन । उसले आरोप लगायो । यो एउटा आधार हो । तर, प्रमाण होईन् ।

रवि लामिछानेले शालिकरामलाई कहाँ टर्चर दियो ? खोई त प्रमाणित भएको छैन । अस्मिता कार्कीको संलग्नता त शालिकरामसँग छ । रविको फोनको कल डिटेल आउन बाँकी छ । केही प्राविधिक कुराहरु आउन बाँकी छन् । एक जना व्यक्तिसँग बयान पनि लिन बाँकी छ । सिसिटिभीका फुटेजका बारेमा पनि हामीले डिटेल हेर्न पाएका छैनौं भन्ने कुरा हो । जुन विषायन्तर गरेर रवि, रवि भनेर फोकस गरेर अनुशन्धान गरिरहेको छ । मलाई के लाग्छ भने अनुशन्धान अधिकृतहरुको (उहाँहरुको विश्वसनीयतामा मेरो प्रश्न होईन) हामीले अनुशन्धामा सघाएकै छौं त । बयानको लागि बोलाएको छ । थुनामा राखेको छ । लोकतान्त्रिक मुल्य र मान्यतालाई हामीले विल्कुल रुपमा आत्मसात गरेका छौं ।

रविलाई जसरी प्रहरीले अनुशन्धान गरिरहेको छ । यो अपर्याप्त छ । यो मात्रै (एउटा कर्नर) बाट अनुशन्धान जाँदाखेरि सायद यो मुद्दा निश्प्रभावी हुने सम्भावना म भन्न सक्छु । भोलिका दुई दिनले यसलाई पुष्टि गर्ला । यो प्रकरणमा जसरी अनुशन्धान भैरहेको छ, केही कुराहरुमा हाम्रो विमति छ । किनभने यसमा कसरी रविलाई फसाउन सकिन्छ भनेर मात्रै पनि अनुशन्धान केन्द्रित भएको देखिन्छ । दबाब कसको छ ? भन्दापनि परिस्थिति बरु म भनिदिन सक्छु ।

शालिकरामलाई कसले चितवन पठायो ? उससँग को थियो ? के कामको लागि उ चितवन गएको थियो ? त्यो होटेलमा उसले दर्ता गर्यो । दर्ता गरिसकेपछि उ बाहिर गयो । उ सँग भएको झोला पनि छैन । अनि मुचुल्का उठाउँदाखेरि मोवाईलको कुरा त्यहाँ छैन । मोवाईल कसले बरामत गर्यो ? नेपाल प्रहरीको तत्कालिक टोलीले त्यहाँ बरामत गरेको छ । अनि डाटा कहाँबाट रिलिज भाछ ? निजी सञ्चारमाध्यमबाट भएको छ । उहाँ (किशोरजीले भन्नुभयो हामी सञ्चारमाध्यम हो, पत्रकार हौं, यसलाई सुसुचित गर्ने दायित्व हो भन्नुभयो) परिवारले कसरी दियो ? भनेर त भन्नुपर्यो नि । पेनड्राईभ वा गुगल ड्राईभबाट ट्रान्सक्राईब गरियो कि ? रहस्यमय के भयो भने त्यो त प्रहरीको प्रोपर्टी हो नि । अनुशन्धान हुँदाहुँदैको मटरियलको सर्टेन पोर्सन एउटा निजी सञ्चारमाध्यमले सार्वजनिक गरेको छ । यसमा को उद्धत छ ? भन्ने कुरा देखियो ।

कसलाई हतार भएको छ ? निर्णयको लागि ? हामी त पर्खिरहेका छौं । जनता त पर्खिरहेका छन् । हामीलाई विश्वास छ, न्यायमूर्तिहरुको विवेक गुमेको छैन अझै यो देशमा । कानून भन्ने चीज छ । हामीले न्यायमूर्तिहरुलाई विश्वास गरेका छौं । तर, अनुशन्धानको प्रक्रिया र मुद्दा उठानको जुन प्रक्रिया छ, यो केशमा त्यो पर्याप्त भएन कि भनेर मात्रै हामीले भनेका हौं । यो केशमा अनुशन्धानको दायरा निकै विस्तृत हुनुपर्दथ्यो । त्यही भएर अहिले केन्द्रबाट सिआईबीको टोली गएर अनुशन्धान गर्नुपर्यो । भोलि त्यसको निश्कर्षबाट चित्त नबुझ्ला । भोलि चित्त नबुझ्दा ठाउँ–ठाउँमा हामीले अपिल गर्ने कुरा खुल्ला छन् । त्यो सुविधा त हामीलाई छ । हामी पनि पीडित हौं । हामी पीडामा छौं । किनभने नाजायज किसिमबाट एउटा निर्दोष मान्छे मर्यो । एउटा कोही मान्छेको निधन भयो । दुःखद् भयो त्यो । त्यो दुःखद् निधनलाई आधार बनाएर विभिन्न किसिमका राजनीतिकरण र आफ्ना रिस साँध्न मिल्छ ? म प्रश्न गर्न चाहन्छु ।

हामीले जुलुश निकाल्नको लागि भनेका पनि छैनौं । र, कुनैपनि किसिमको दबाब दिएका छैनौं । रविका समर्थकहरुले स्वतःस्फूर्त रुपमा जुलुश निकाल्नुभएको हो । हामीले आउनुहोस सर्वसाधरणहरु भनेर कहीँ कतै विज्ञप्ती दिएका छैनौं । तर, जुलुशमा नआउनुहोस भनेर हामीले भन्न सक्दैनौं । कुनैपनि शान्तिपूर्ण जुलुशमा जान पाउने कुरा नेपाली जनताको अधिकारको कुरा हो । त्यो उहाँहरुको संवैधानिक अधिकार हो ।

किशोरजीलाई किन हतार भयो त अनुशन्धानको चीज बाहिर रिलिज गर्न ? कसरी गयो ? हामी आँत्तिएका छैनौं । अरु कुरा नलुकोस भन्ने हाम्रो चाहना हो । छानबिनको फोकस जतातिर जानुपर्ने हो, त्यतातिर छैन । पारिवारिक स्रोतबाट उहाँले भिडियो पाएँ भन्नुभयो । धेरै केशहरुमा प्रमाणहरु नष्ट भयो भनेर हामीले सुनेका छौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणकै कुरा गर्दापनि प्रमाणहरु नष्ट भयो भनेका छौं । मान्छेहरु किन सडकमा आए ? भनेर यसको ईन्टरलिंक खोज्दै जानुभयो भने त्यसको हल हुन्छ क्या, कुनैपनि समस्याको पुच्छरमा समाधान पनि जोडिएर आएको हुन्छ । त्यसले गर्दाखेरि आम मानिसहरुलाई यदि यस्तो किसिमबाट एउटा सार्वजनिक हितको लागि डटेर, निडर भएर सबै मान्छेलाई खरो रुपमा प्रस्तुत हुने एउटा पत्रकारलाई उसले गर्दा धेरै मान्छेहरुलाई यहाँ असहजिलो पनि पर्या होला । जसले भ्रष्टाचारलाई प्राथमिकता दिएका छन्, उनीहरुलाई असजिलो भएको होला ।

शालिकरामको आत्महत्या वा हत्या के हो ? भनेर मैले ठ्याक्कै भन्न सक्दिन् । यो त प्राविधिक रिपोर्टले नै भन्छ । हामीले पनि हेर्यौं । आजसम्म शालिकराम कसको कारणले चितवन आयो ? भनेर भनिएको छैन् । किन आयो त ? रवि लामिछानेले पठाएर त आएको होईन । उसले त्यहाँ केही मानिसहरुलाई भेट्यो भनिएको छ । ती मान्छेहरु को हुन ? भनेर प्रहरी किन जाँदैन् ? किन खाली रवि लामिछाने र यो भिडियोमा भनेको कारणले रविलाई अनुशन्धान गर्नुपर्छ मात्रै भनेको छ । त्यो भन्दाबाहेक अरु कुनै कुरामा अनुशन्धान भएको छैन् ।

अहिलेको प्रकृति हेर्दाखेरि आत्महत्या देखिन्छ । तर, दुरुस्साहन भनेर जसरी मुद्दा लगाउन खोजिएको छ, कसरी दुरुस्साहन भयो ? भोलि त जसले पनि जसलाई फसाउन सक्ने भयो । कानूनको मक्सद पवित्र छ । यसमा रवि लामिछानेको संलग्नता होला भनेर कसरी पुष्टि होला ? यसमा मलाई पटक्कै विश्वास छैन् । यही आधारबाट अनुशन्धान गर्ने हो हामीले ? रवि रिहाई हुन्छ । उ फूलमाला लगाएर निस्किन्छ । कति दिन भन्दिन् । तत्काल निस्किन्छ । सम्भावना छ । मिति त मैले कसरी भन्ने ? यो त प्रक्रियाले भन्ने हो । न्यायमूर्तिले भन्ने हो । तर, मलाई प्रक्रियामा विश्वास छ । हामी अनुशन्धान पद्धती र प्रक्रियालाई पूर्ण रुपमा सहयोग गर्छौं । अहिलेपनि गरिरहेका छौं ।

रवि किन विवादमा ?

रवि गतिशिल व्यक्ति हो । जो मान्छे जीवनमा गतिशील हुन्छ । उसको जीवनमा उतारचढाव हुन्छ । आफ्नो व्यैतिक स्वतन्त्रता पनि आफ्नो ठाउँमा हुन्छ । कानूनी तवरले पनि आफू बच्दै बच्दै जानुपर्छ । यो उसको लागि निश्चयपनि अग्निपरीक्षा हो । हाम्रो नियत सफा छ । हामीले प्रचण्ड वा कसैको पनि नाम लिएका छैनौं ।

 



प्रतिक्रिया दिनुहोस्