Logo

रवि लामिछानेको रिहाईको माग गर्दै कलाकारहरुले भने : ‘निश्पक्ष छानबिन हुनुपर्छ’ (भिडियोसहित)



रवि लामिछानेले न्याय पाउनुपर्छ, तर छानबिनमा दबाब नदिऔं : ऋषि धमला

‘जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन, म त कानुनमै समस्या देख्छु’ : दिपकराज गिरी

‘हामी रविजीको पक्षमा एकजुट हौं, धेरै विश्लेषण नगरौं’ : निखिल उप्रेती

रवि पक्राउ प्रकरणमा छिटोभन्दा छिटो निश्पक्ष छानबिन हुनुपर्छ : रमेश उप्रेती

काठमाडौं, ७ भदौ । चर्चित कलाकारहरुले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । उनीहरुले लामिछानेको रिहाईको माग गरे । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष अन्तरक्रियामा बोल्दै कलाकारहरुले यस्तो बताएका हुन् ।

हाँस्यकलाकार, अभिनेता तथा फिल्म निर्माता दिपकराज गिरीले रवि लामिछाने भोलि रिहाई हुने कामना गरे । उनले भने,‘अब रविजीको बारेमा बोल्दाखेरि, मैले मेरो मुहारपुस्तिकामा पनि लेखेको थिएँ, पछिल्लो कारण आयो, त्यसमा बोल्न चाहन्छु । त्यस्तै पीडाबाट म पनि गुज्रिरहेको व्यक्ति हुँ । आत्महत्या गर्नेप्रति मेरो समवेदना छ । चलचित्र प्रदर्शनको सिलसिलामा एक जना भाई यही पीडाबाट गुज्रिनुपर्यो । त्यो पीडा मैले नजिकबाट आत्मसात गरेको छु । संसार एउटा महाभारत हो । हरेक प्रकारका युद्धको सामना गर्नुपर्छ । अन्याय हुन्छ भने कानूनको ढोका ढकढकाउनुपर्छ । जीवनको नाम संघर्ष हो ।’

उनले रवि लामिछानेको लागि यति धेरै समर्थन रहेको पनि सुनाए । उनले भने,‘उहाँको पक्षमा ठूलो समर्थन छ । चासो छ । अहिले हामीले कानून संशोधन गरेका छौं । म त कानूनमै दोष देख्छु । आक्षेप लगाउने मान्छे १०० प्रतिशत सत्य हुँदैन् । कानून सुधार गर्नुपर्छ । यदि कोही मान्छेले म त मर्छु र अरुलाई पनि दुःख दिन्छु भन्यो भने धेरै मान्छे कष्टडीमा हुन्छन् ।’

उनले आफू र रवि लामिछानेबीच निकै लामो मित्रता रहेको सुनाए । उनले भने,‘मित्रताको कारणले म यहाँ आएको होईन । म सत्यको पक्षमा बोलुँ भनेर सधैं कोशिस गर्छु । रवि निर्दोष छ । म यहाँ क्लबमा आउँदै गर्दा सडकमा रविलाई रिहाई गर भनेर अहिलेपनि जाम छ । रविजीले सामान्य मानिसको आवाज उठाईदिनुभयो, त्यसैले आज न्याय पाउनुपर्छ । भोलि नजिर बस्न सक्छ, जिन्दगीबाट हारेको मान्छेले आरोप लगाएर मरिदिनसक्छ । यत्रो प्रेसर दिँदाखेरि त रविजी दश दिन बसिसक्नुभयो । कसैले कसैलाई अन्याय गरेको छ भने रविजीलाई भेट्नुपर्छ भन्ने अवस्था छ । आम मानसिले अहिले चलचित्रमा हामीले देखाउने नायक र नायकत्व रविजीमा पाउनु भएको थियो ।’

गिरीले आत्महत्या भनेको आफैंमा अपराध भएको सुनाए । ‘यो केशमा भोलि न्याय हुनेछ । रविजीले भोलि न्याय पाउनुहुन्छ ।’–उनले थपे । उनले कानूनमै सुधार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘राज्यले रविजीलाई न्याय दिनेछ । रिहाई भएर जनताको आवाज लिएर फेरि आफ्नो कर्ममा फर्किनुहुन्छ । राज्यले पनि गम्भिर विचार गर्नुपर्छ । जनताको नायकलाई जबरजस्ती खलनायक बनाउने काम गर्नुभएन ।’

तर, उनले भीडले न्याय नदिने कुरामा आफू विश्वस्त रहेको सुनाए । यद्धपी उनले हिजो राजाको शासनको पालामा भीडले परिवर्तन ल्याएको कुरा बिर्सन नहुने सम्झाए । उनले भने,‘तर, काराणसहितको भीड हुनुपर्छ ।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफू पनि रवि लामिछानेले न्याय पाउनुपर्ने पक्षमा रहेको सुनाए । उनले भने,‘रविजी पक्राउ परेपछि, उहाँको बारेमा पहिलोपटक मिडियामा बोल्ने व्यक्ति हुँ । तपाईहरु यो कुरा युट्युवमा पनि हेर्न सक्नुहुन्छ । म रविजीको पक्षमा छु । रिहाईको लागि म आग्रह गर्दछु । तर, मुलुकमा कानूनको शासन छ । म न्यायमूर्तिप्रति विश्वास राख्दछु । भोलि रविजीको रिहाईको कामना गरौं ।’ उनले स्वतन्त्र र निश्पक्ष रुपमा छानबिन गर्न दिनुपर्ने भन्दै दबाब र भीडले छानबिन प्रक्रियामा असर पुर्याउन नहुनेतर्फ सचेत गराए ।

धमलाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि यसको पक्षमा सबैभन्दा बढि बहस गराउने थलो पनि रिपोर्टर्स क्लब भएको सुनाउँदै उनले भने,‘क्लब परिवर्तनको पक्षमा थियो र छ, यसको लागि पक्षमा बहस गर्ने फोरम पनि यही क्लब बनेको थियो । हामी विधिको शासनमा विश्वास गर्छौं । अहिले रविजीलाई भेट्न ऋषि धमला किन चितवन गएन ? भनेरपनि बहस भएको छ, म चितवन जान तयार छु ।’

धमलाले निर्दोषले सजाय पाउन नहुने र दोषी उम्कन नहुने धारणा राखे । उनले भने,‘यदि यो प्रकरणमा रविजी निर्दोष हुनुहुन्छ भने उहाँले न्याय पाउनुपर्छ, तर गलत काम गरेको छ भने दण्डितपनि हुनुुपर्छ । म व्यवसायिक पत्रकार हो । निर्दोषले न्याय पाउने हो । दोषी दण्डित हुनुपर्छ ।’ उनले पत्रकार शालिकराम पुडासैनीको परिवारले पनि न्याय पाउनुपर्ने बताए ।

अर्का कलाकार निखिल उप्रेतीले विशुद्ध नेपाली झण्डामुनि बसेर सत्य बोल्ने मान्छेले नेपालमा दुःख पाउने सुनाए । उनले पछिल्लो समय मानवता खत्तम भएको र सत्य भन्ने चीज हराएको सुनाए । उप्रेतीले भने,‘हामी सत्यको पक्षमा लडौं ।’ देश र जनताप्रति राजनीतिक गर्ने व्यक्तिहरु ईमानदार हुनुपर्ने उनको भनाई छ । तर, शक्तिकेन्द्रित भएपछि मान्छे नशामा केन्द्रित हुने उनले प्रष्ट्याए ।

उनले अघि थपे,‘रविजी त पपुलर हुनुहुन्थ्यो । आफ्नो आवाज प्रष्ट भनिरहेका छन् ।कानूनको व्याख्या नै गलत छन् भने कानूनले कसरी काम गर्छ ? नेपाली झण्डाको मुनि बसेर काम गरौं । रविजीलाई मात्रै होईन, यहाँ स्वतन्त्र रुपमा सत्यको पक्षमा लड्नेमाथि यो अवस्था सिर्जना गरिन्छ । क्राईम गरेको व्यक्तिलाई डर हुन्छ । हामीले लड्नुपर्ने यसको विरोधमा हो । हामी रविजीको पक्षमा एकजुट हौं । धेरै विश्लेषण नगरौं ।’

उनले नेपालमा सही व्यक्ति र पार्टीको रंग नलागेको व्यक्तिलाई अप्ठ्यारो अवस्था रहेको सुनाए । उनले भने,‘रविजीको हकमा कानूनले सही तरिकाले निर्णय होस् । सत्य, तथ्य कुरा जनताकहाँ पुगोस् । हामीले रविजीलाई साथ दिनुपर्छ । तर, यो केशमा राजनीतिकरण नहोस् ।’

अर्का कलाकार रमेश उप्रेतीले रवि लामिछाने पक्राउ प्रकरणमा छिटोभन्दा छिटो छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘म रविजीको साथी हो । छिटोभन्दा छिटो छानबिन होस् । निश्पक्ष होस । बिना कुनै दबाब काम गर्न दिईयोस् । यो देशमा अदालत छ । श्रीमान हुनुहुन्छ । यो केश कोर्टमा गैसक्यो । प्रेसर दिएर राम्रो निर्णय ल्याउँदैन् ।’

उनले रवि लामिछाने स–सम्मान छुट्नुहोस भनेर प्रार्थना गर्न आग्रह गरे । तर, यो प्रकरणमा दोषी भए रविले पनि सजाय पाउनुपर्ने उनको भनाई । उनले थपे,‘उहाँ पनि कानूनभन्दा माथि हुनुहुन्न ।’ यद्धपी उनले हिरासतभन्दा बाहिर राखेरपनि रवि लामिछानेमाथि छानबिन गर्न सकिनेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए ।

उनले भने,‘उहाँलाई भयंकर अपराधीजस्तै गरेर पक्राउ गरियो । उहाँले त सुरुवातदेखि नै प्रहरी प्रशासनलाई सहयोग गर्छु भन्नुभएको थियो । तर, जे होस अब अन्तिम निर्णय अदालतको हो । रविजी भनेको आवाजविहीनको आवाज हो । उहाँले आफ्नो आवाजलाई निरन्तरता दिनुहोस् ।’
कार्यक्रममा कलाकार निर्मल शर्मा ‘गैंडा’ ले पनि रवि लामिछाने निर्दोष रहेको भन्दै भोलि रिहाई हुने विश्वस दिलाए । त्यस्तै अर्का कलाकार अनुराग कुँवरले रवि लामिछानेले न्याय पाउनुपर्ने धारणा राखेका थिए । उनले भने,‘रविजी निर्दोष हुनुहुन्छ । उहाँले न्याय पाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्