रिपोर्टर्स नेपालः यो एउटा यस्तो नृशंस हत्याकाण्ड हो, जसले सिङ्गो मुलुकलाई नै स्तब्ध र तरङ्ति बनाइदिएको थियो । हत्याकाण्ड भएको ३८ वर्ष पूरा भइसकेको छ । तर, वास्तविक हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।
वि. सं. २०३८ जेठ १८ गते काठमाडौ, लाजिम्पाटबाट बिहान ७ बजे नमिता र सुनिता भण्डारी मुस्ताङ्ग ट्रान्सपोर्ट बा. अ. १८० नं. को बस चढेर सुन्दर नगरी पोखराको यात्रामा घरबाट निस्किएका थिए । उनीहरूका साथमा उनीहरूसँग अत्यन्त मिल्ने साथी नीरा पराजुली पनि थिइन् भने नमिता–सुनिताका दाजु (ठूलो बुवाका छोरा) बल्लभ भण्डारी, उनकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरा विन्टुु (विजय) पनि यात्रामा संलग्न थिए ।
उच्च सरकारी अधिकारीकी छोरी नमिता र सुनिता सुन्दर व्यक्तित्वका थिए । आधुनिक शिक्षादिक्षा पाएका उनीहरुको सुन्दरताबाट को प्रभावित हुन्नथियो होला । त्यसैले उनीहरुमाथि दुष्टको आँखा लाग्यो । लाजिम्पाटका माधवराज भण्डारी नेपाल सरकारका उच्च अधिकारी थिए । भण्डारीको परिवार सम्पन्न थियो ।
विहान ७ बजे काठमाडौंबाट गुडेको मुस्ताङ ट्रान्सपोर्ट दिउँसो अढाइ बजेतिर पोखरा बसपार्कमा पुगेर रोकियो । भोलिपल्ट अर्थात् २०३८ साल जेठ १८ गते बिहानको ७ बज्नासाथ नीरा ट्याक्सी चढेर बगाले टोलस्थित बल्लभ दाइको डेरामा पुगिन् र, त्यहाँबाट आफ्ना सहृदयी साथी नमिता–सुनितालाई साथमा लिएर काकाको घरमा फर्किइन् । उनीहरू काकाको घरमा केही घण्टामात्र बसे र बिहानको खाना खाइवरी करिब १०ः३० बजेतिर बल्लभको डेरा हँुदै पूर्णिमा सिनेमा हलमा सिनेमा हेर्न भनी गए । त्यस दिन पोखराको सिनेमा हलमा उनीहरूले हरेको हिन्दी सिनेमाको नाम थियो ‘कोशिश’ । यो १८ गतेको दिन थियो ।
२० गतेको दिन उनीहरू बिहानै फेवाताल घुम्न गए । तर उनीहरू फेवाताल पुगेको केहीछिनपछि नै मज्जाले पानी दर्किन थाल्यो । पानीका कारण धितमरून्जेल फेवाताल हेर्न र घुम्न भने पाएनन् उनीहरूले । त्यसपछि उनीहरू पानीबाट ओतिनका लागि डाँफे कला मन्दिरमा पसे र दिनको १२ बजेतिर पानी केही कम भएपछि डेरातिर फर्किए ।
२१ गतेको दिन पनि उनीहरू पोखरा घुम्न निस्किए । २२ गतेको दिन उनीहरू तीन जना नीराकी सानी आमाकहाँ गए । त्यो रात उनीहरू सानीआमाकै घरमा बास बसे । अब दुई तीन दिनभित्रमा काठमाडौं फर्किन्छौं भनेर उनीहरूले सानीआमालाई बताएका थिए ।
सानीआमाको घरमा बसेको भोलीपल्ट नमिता र सुनिता घरमा बुबाआमालाई चिन्ता प¥यो कि भन्दै पत्र लेख्न बसे । सुनिताले पत्र लेखिन् ।
भोलीपल्ट २४ गते अर्थात् २०३८ जेठ २४ गते बिहान सबेरै उठे र तीनै जना बेगनास ताल घुम्न भनी घरबाट बाहिरिए । तर उनीहरू बेगनास ताल पुगे कि पुगेनन् यो कुरा भने रहस्यकै गर्भभित्र आजसम्म लुकेको छ भने घर फर्किने उनीहरूको दिन पनि कहिल्यै आएन । २४ जेठका दिन हाँसी खुशीसाथ घरबाट निस्किएका तीन चेली कहीँ कतै देखा नपरी उकाएक गायब बनाइए । तीन चार दिनदेखि केटीहरू आएनन् ।उनीहरूको खोजीमा आफन्त लागे ।
सबैतिर खोजी गर्दा पनि केटीहरूको पत्ता लागेन । अन्ततः आजित भएर रूद्रमणिले जेठ २७ मंगलबारका दिन नमिता–सुनिता का बुबा माधवराज भण्डारीलाई ट्रंकल गरी छोरीहरूबारे सोधे । तर माधवराजले पनि छोरीहरू काठमाडौं नफर्केको बताएपछि रूद्रमणि झनै दुःखित र त्रसित भए ।
रूद्रमणिले छोरीहरू पोखराबाट एकाएक हराएको बताए । त्यसपछि उनले माधवराजसँग पुुलिसमा रिपोर्ट गर्नेबारे अनुमति मागे । तर माधवराज भने पुलिसमा रिपोर्ट गर्ने कुरामा सहमत भएनन् । शक्तिको प्रयोग गरेर गृहका अधिकारी गुहारे । तथापि उनको हारगुहारलाई कसैले पनि गम्भीरताका साथ लिएनन् । गृहमन्त्री नवराज सुवेदीले यत्ति मात्र भनेका थिए–‘तपाई पोखरा गइहाल्नुहास्, मैले शानेवानिलाई भनिदिएको छु । विमानस्थलबाट सोझै टिकट लिए हुन्छ, गइहाल्नुस् ।’
पोखरामा नमिता, सुनिता र नीरा हराएको खबरले सनसनी फैलिरहेको थियो । शान्त पोखरा नरवासीहरू अशान्त बन्न थालिसकेको थिए । जताततै सन्त्रास छाइरहेको थियो । पोखराबासीमा अनेक आशङ्काहरू उठिरहेका थिए । राजधानीमा पनि नमिता सुनिता र नीरा बेपत्ता भएको घटनाले चचौ पाएको थियो । (बद्रर्श बुकले प्रकाशित गरेको पुस्तक नेपालका चर्चित हत्याकाण्डबाट)