बाँके । कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको हो ।
शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान गरिने जनाएका छन ।
कोहलपुर क्षेत्रका आम नागरिकले कोहलपुर नगरलाई सुन्दर र उज्यालो बनाउन नगरपालिकासँग पटक–पटक अनुरोध गरेअनुसार नगरपालिकाले शहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समितिलगायत सरोकारवाला निकायसँगको समन्वयमा हाइमास्ट जडान गर्ने कार्य अघि बढाएको हो ।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपीचोकमा केही महीनाअघि हाइमास्ट जडान गरेको थियो । उक्त हाइमास्टले विपीचोक क्षेत्रको सुन्दरता बढाउनुका साथै रातिको समयमा पनि पैदलयात्रुदेखि सवारीसाधनलाई सडक पार गर्न सहज भएको जनाइएको छ । यही कामलाई पछ्याउँदै कोहलपुरमा पनि हाइमास्ट जडान गर्ने प्रक्रिया अघि बढाएको हो ।
यसका लागि नगरपालिकाले बोलपत्र आह्वान गरी ठेक्का सम्झौतासमेत गरिसकेकाले अबको केही साताभित्रै हाइमास्ट जडानको काम अघि बढ्ने जनाइएको छ नगरपालिका क्षेत्रभित्र पाँच सय व्यक्ति अट्ने सिटीहलको निर्माणसमेत हुने भएको छ ।
सिटीहल निर्माणबारे यसअघि पनि पटक–पटक छलफल हुँदै आएको थियो । सिटीहलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत यसअघि तयार भए पनि सरोकारवाला निकायले चासो नदेखाउँदा हालसम्म सिटीहल निर्माणको कामले गति लिनसकेको थिएन । नगरपालिकामा जनप्रतिनिधिको पनि हालसम्म चासोमा परेको थिएन ।
कोहलपुरको समग्र विकासमा सिटीहल र हाइमास्ट जडानले थप मद्दत गर्ने भन्दै जनचाहना र मागअनुसार ै विकास निर्माणका गतिविधिलाई नगरपालिकाले प्राथमिकतामा राख्दै लगेकोे छ ।
सिटीहल निर्माणमा १० करोड लाग्ने अनुमान गरिएको छ । कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको दुई बिघा जग्गामा उक्त सिटीहल निर्माण हुने हुने भएको हो ।