Logo

बलात्कारपछि यसरी मारिएका थिए नमिता सुनीता



पोखरामा नमिता, सुनिता र नीरा हराएको खबरले सनसनी फैलिरहेको थियो । जताततै सन्त्रास छाइरहेको थियो । पोखराबासीमा अनेक आशङ्काहरू उठिरहेका थिए । राजधानीमा पनि नमिता सुनिता र नीरा बेपत्ता भएको समाचारले गरमरूप धारण गरिसकेको थियो ।
यसैबीच अर्थमन्त्री यादवप्रसाद पन्तबाट ‘केटीहरूको राम्ररी खोजतलास गर्नू’ भन्ने निर्देशन गयो । जेठ २८ गतेका दिन माधवराज, उनकी श्रीमती र नीराकी आमा हवाइजहाज चढेर काठमाडौंबाट छोरीहरूको खोजीमा पोखरातिर लागे । नीराका बुबा थीरमणि भने मोटरसाइकल दुर्घटनामा परेर हात मर्किएको र दमको रोगी भएका कारण पोखरा गएनन् । उनी घरमै अधैर्य भएर छोरीहरूको शुभ–समाचारको प्रतीक्षामा बसिरहे ।

माधवराजहरू पोखरा विमानस्थलमा अवतरण हुनु पनि एउटी केटीको लास फेला परेको समाचार कसैले सुनायो । सो समाचारले माधवराजहरको मनमा एक्कासि चिसो पस्यो । आङ नै सिरिङ्ग भएर आयो सबैको । उनीहरू हतार हतार अस्पतालतर्फ लागे जहाँ फेला परेको भनिचएको केटीको लास राखिएको थियो । अस्पताल गएर लास हेरेपछि माधवराजको शिरमाथि बज्र परेको जस्तो भयो । किनभने त्यो लास उनैको जेठी छोरी नमिताको थियो । आमाको गला एकाएक अवरूद्ध भएर आयो । आँखाबाट अनायासै आँसुका बलिन्द्रधारा बग्न थाले । आमाको मन भक्कानिएन मात्रै उनी बेहोस भएर डङ्रङ्ग भुइँमा ढल्न पुगिन् ।

नमिताको मृत शरीरको घाँटीमै झुण्डिरहेको लेडिज व्याग, दुबै दुवै दिदी–बहिनीको परिचयपत्र र सनुको लकेटसमेत घटनास्थलमा फेला परेको थियो । नमिताको बाटेको कपालमा दुइवटा क्लिप जस्ताको तस्तै थिए । उनका आँखा विस्फारित थिए भने उनले लगाएको जुत्ता र मोजालाई सेती नदीको पानीले बगाउन सकेको थिएन । नमिताको लास सेतीनदीको लास सेतीनदीको किनारामा भेटिएको थियो । तर अर्की छोरी कुन अवस्थामा होलिन् भन्ने कुनै अत्तोपत्तो थिएन ।

अस्पतालमा आफ्नी जेठी छोरीको मृत शरीर देख्नासाथ बेहोस भएर ढलेकी सफलादेवीको हप्ता दिनसम्म पनि होस खुलेन । नीरा र सुनिता कुन अवस्थामा कहाँ होलान् भन्ने अर्को प्रश्न ज्यूका त्यूँ नै थियो ।

सेती नदीको किनारमा एउटी अपरिचित किशोरीको लास ढुङ्गामा अड्सकिएर रहेको खबरले पुनः अर्को सनसनी फैलायो पोखरानगरीमा । नदी किनारामा उत्तानो परेर पल्टिएको मृतकको कपडा शरीरको कम्मरमाथि चाहिँ निर्वस्त्र थियो शरीर पानीले बगाएका कारण हुनसक्छ उनका स्तनहरू प्रष्टरूपमा खुल्लै देखिन्थे । यो लास उनै नमिताको थियो ।

नमिताको लास फेला परेपछि प्रशासन केही तातेको जस्तो अनुभव पोखरावासीहरूले गरे । मानिसहरूबीच तीन वटा केटीहरू फेवाताल घुम्न जाँदा के कस्तो परिबन्धमा परेर मारिए भन्ने कुरा त्यहाँ डुङ्गा चलाउने बोटेहरूलाई थाहा हुनसक्छ । भिडियो हेर्न भलाम गएका, दूध बेच्न आउनेहरूलाई थाहा होला, जस्ता अनेकन हल्लाहरू पोखरामा एकपछि अर्को गर्दै फैलिन थाले । प्रशासन सक्रिय भयो । प्रहरीले फेवातालका भएभरका सबै बोटेहरूलाई पक्रिदै ल्याउन थाले । दूध बेच्ने र पाकेटमारहरूलाई समेत प्रहरीले बाँकी राखेन ।

त्यतिञ्जेलसम्म सुनिता र नीराको भने कुनै खुटखबर थिएन । उनीहरू जीवितै छन् या मारिइसके भन्ने आशंका सर्वत्र व्याप्त थियो । यस्तैमा २०३८ साल असार १ गते सोमबारका दिन नमिता–सुनिताका बाबु माधवराज भण्डारीले जिल्ला प्रहरी कार्यलय पोखरा, कास्कीमा वेपत्ता भएका आफ्ना छोरीहरूको खोजतलासका लागि एक जाहेरी दरखास्त दर्ता गराए । उनले आफ्नो जाहेरीमा छोरीहरूले आत्माहत्या गर्नुपर्ने कुनै कारण नभएको जनाउँदै २०३८ साल जेठ २४ गते शनिबार बिहान १२ बजेतिर घुमफिर सिध्याई महेन्द्रपुल पुगी तीनै जना नगरबसमा चढेको देख्ने साक्षीहरूको हवाला जाहेरीमा उल्लेख गरिएको थियो । उक्त जाहेरीमा अगाडि भनिएको थियो–‘निजहरूको उमेर, सौन्दर्य र हातमा लगाएको औंठी, घडी आदि समेतको कारणबाट खराब गुण्डाले पिछा गर्दै सुनिता र नीरालाई कुनै घटना घटाउन खोज्दा कहालिदै भाग्दा नमिता नदीमा खस्न पुगेकी वा शरीरमा कसैले प्रहार गरी मुर्छित अवस्थामा नदिमा फालेको पनि हुन सक्छ । अतः अन्य छोरीहरूको सक्रियताका साथ खोजतलास गरिदिन यो दरखास्त पेश गरेको छु ।

नमिताको लास भेटिएको ८ दिनपछि घोप्टो परिरहेको अवस्थामा सेती नदीको किनारामै भेटियो सुनिताको लास पनि । नमिताको लास भेटिएभन्दा थोरै तल तुल्सीघाट भन्ने स्थानमा । असार ६ गतेका दिन सुनिताको लास नदीबाट निकालियो । र पोष्टमार्टमका लागि अस्पतालतर्फ लगियो । नमिता–सुनिता–नीरा हराएकै भोलिपल्ट आइतबारका दिन तुल्सीघाटमा बालुवा झिक्नेहरूले, पाटीमुनि एउटी केटीको लास देखेको कुरा गरेका थिए । पछि त्यो लास नमिताकै हो भनेर सनाखत भयो । नमिताको लास देखेका मान्छेहरूको नजरर सुनितामाथिचाहिँ किन परेन त ?

साक्षीहरूका अनुसार सुनिताको हत्यासम्बन्धी अर्को रहस्य लुकेको देखिन्छ । सुनिताको लास नदीको किनारामा फेला पर्दा उनको खुट्टामा सुरूवाल थिएन अण्डरवेयर दोब्रिएको थियो भने उनको घाँटीमा कालो सलले बेस्सरी कसिएको थियो । लासको छेवैमा लामो बाँस थियो । यसबाट पुष्टि हुन्छ कि सुनितालाई घटनास्थलबाटै उठाएर अन्त कतै लगी सामूहिक बलात्कार गरी पोल खुल्ने डरले उनैले ओढेको सलले घाँटीमा कसेर हत्या गरियो र लासलाई थपक्क उठाएर नदी किनारामा लगि फलियो । उनको लासको प्रकृति मुचुल्कामा–‘घाँटीमा मलमलको पछ्यौरीको दुई फन्को लगाई गाँठो पारिएको, छातीमा सेतो चेस्टर लगाएको, अगाडिपट्टि कुर्ताको बटम खुल्ला हुँदा भित्री भाग देखिएको’ भन्ने मुचुल्कालाई आधार मान्दा सुनिताको बलात्कारपश्चात् हत्या भएको देखिन्छ । (नमिता सुनिता हत्याकाण्डबारे पुस्तक अंश, यसको थप अंश पुनः प्रकाशित गर्नेछौं, नेपालका चर्चित हत्याकाण्ड ब्रदर बुक्सले प्रकाशत गरेको बाट साभार)



प्रतिक्रिया दिनुहोस्