Logo

वैदेशिक रोजगारमा ज्यान गुमाएकाको बालबच्चालाई छात्रवृत्ति खुल्यो (मापदण्डसहित) 



काठमाडौ । वैदेशिक रोजगार बोर्डले छात्रावृत्ति निवेदन खुला गरेको छ । वैदेशिक रोजगारीका सिलसिलामा अभिभावक गुमाएकाका लागि बोर्डले ९ भदौमा छावृत्तिको निवेदन खुला गरेको हो ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पूर्ण रुपमा अशक्त वा गम्भीर विरामी भएका कामदारको बालबालिकालाई वैदिशिक रोजगार छात्रवृत्ति दिने व्यवस्था गरिदै आएको छ । आफू अध्ययनरत शैक्षिक संस्थाबाट असोज मसान्तभित्र निवेदन दिनुपर्ने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि बमोजिम २०७६ छात्रावृत्तिका लागि श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा विरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरी हुनुपर्ने मापदण्ड छ । यसका अतिरिक्त सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर का १८ वर्ष मुनिकाले मात्र निवेदन दिन सक्नेछन् । २०७६ असार मसान्तसम्म उपरोक्त अनुसारको आर्थिक सहायता प्राप्त गर्ने कामदारका बालबालिकालाई मात्र शैक्षिक सत्र २०७६ को छात्रावृत्ति उपलब्ध गराईने जनाइएको छ ।

छात्रावृत्ति प्राप्त नगर्नेहरुले कामदारको श्रम स्वीकृतिको निस्सा (स्टिकर) को प्रतिलिपि, निवेदकको संरक्षकको नागरिकताको प्रतिलिपि, वैदेशिक कामदारको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि, बोर्डबाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने कामदारको राहदानीको प्रतिलिपि वा राहदानी नम्बर, वैदेशिक रोजगारमा गई सोही क्रममा अशक्त भएका कामदारको पूर्णरुपमा अशक्त भएको खुल्ने प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको जन्म दर्ताको प्रतिलिपि, नाता प्रमाणितको प्रतिलिपि र सम्बन्धित निकायको सिफारिस पेश गर्नुपर्नेछ ।

त्यसैगरी छात्रावृत्ति प्राप्त गरेका विद्यार्थीहरुको हकमा विद्यार्थीको निवेदन र अध्ययनरत विद्यार्थीको कक्षा खुल्ने सिफारिस पत्र निवेदनका साथमा पेश गर्नुपर्नेछ । जाँचबुझबाट उपयुक्त ठहर गरेका निवेदनहरु कार्यविधिको ढाँचामा सिफारिस सहित १५ कात्तिक भित्र शिक्षा विकास तथा समन्वय इकाइमा सबै विद्यालयहरुले पेश गरिसक्नुपर्ने वैदेखिक रोजगार बोर्डले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot