Logo

नेकपा सचिवालय बैठक सम्पन्न, यी हुन निर्णयहरु



काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । उनका अनुसार मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली छन् ।

बैठकले पार्टीका नेताहरुप्रति व्यक्तिगत आक्षेप लगाउन प्रतिबन्ध लगाएको छ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकले नेताहरु प्रति कुनै गुनासो वा व्यक्तिगत तिक्तता भए पार्टीमै छलफल गर्न भनेको छ । अन्यथा स्पष्टीकरणको माध्यमबाट कारबाही थाल्ने निर्णय भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले केही विभागमा उपप्रमुख, जिल्ला इन्चार्ज र जनवर्गिय संगठनहरुमा सहइन्चार्जहरु हेरफेर गरेको छ ।नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुरमा छन् । उनको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बस्ने अधिकार दिईएको थियो ।

पार्टी एकतापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा बैठक बसको हो। सिंगापुर जानुअघि ओलीले बैठक राख्ने र निर्णय गर्ने अधिकार प्रचण्डलाई सुम्पेका थिए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्