Logo

रवि लामिछानेको शीरमाथि ‘तरबार’ झुण्ड्याइयो



काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने धरौटीमा रिहा भए । फूलमाला लगाए पनि । सडकको दबाब भइरहँदा चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्यो । तर, उनको टाउकोमाथि ‘तरबार’ झुण्डिएजस्तै भएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा उनीसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की हिरासतमा राखिएका थिए । रविलाई पाँच लाख र युवराजलाई तीन लाख धरौटीमा रिहा गरिंदा अस्मितालाई साधारण तारेखमा रिहा गरिएको छ । यसले पनि रविलाई मुख्य अभियुक्त जसरी प्रस्तुत गरेको छ ।

अदालतको फैसला अनुसार उनले अनुसन्धानसँग सम्बन्धित विषयमा बोल्न पाउनेछैनन् । उनलाई विदेश जान पनि सजिलो छैन । अनेकन अड्चनहरु लगाइएको छ । हिरासत मुक्त भएपनि रवि लामिछाने कानुनको जञ्जिरभित्र जकडिने अवस्था बनेको छ ।

टेलिभिजनमा बोलेर लोकप्रीय बनेका रविका मुख थुनिएका छन् । अदालतको फैसलाले उनको टाउकोमाथि तरबार झुण्डाइएको जस्तै अवस्था बनेको छ । आफूमाथि लागेको अभियोग झुटा भएको पुष्टि गर्ने चुनौती एकातर्फ छ भने उनले त्यसबारे सार्वजनिक रुपमा कहीं कतै बोल्न पाउनेछैनन् । यसले उनी जुन बोली र व्यवहारबाट लोकप्रीय बन्न सके त्यहीं गर्नबाट वञ्चित हुने अवस्था बनेको छ ।

प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दा दायर गरेको थियो । तर, अनुसन्धानका अनेकन विषयहरु हुनसक्छन् । रविसँग जोडिएका धेरै विषयमा राज्यले चाहेमा अनुसन्धान गर्ने बाटो बनाएको छ । विशेषगरी उनलाई आत्महत्या गर्नुअघि भिडियो बनाएका भनिएका शालिकरामले आर्थिक विषयमा गम्भीर आरोप लगाएका छन् । सम्पत्तिबारे अनुसन्धान हुनसक्ने सम्भावना उत्तिकै छ । यसले पनि रवि लामिछानेलाई विगतमा जस्तो सशक्त बन्न नदिनसक्छ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ । यसले रविलाई फितलो बनाइदिनसक्छ ।

अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा बोल्न नपाउने भएका हुन् । उनीहरुको यो मुद्दा फैसला भने भएको होइन । हिरासतबाहिर रहेर मुद्दा लड्न पाउने बाटो मात्र खुल्ला गरेको हो । उनको विपक्षका कानुन व्यवसायी स्वागत नेपालले पनि यो अन्त्मि होयन भनेका छन् । यसले लामो समय लेला जस्तो छ । रविका लागि मुद्दाले अन्तिम टुंगो नपाउनु तनावको विषय बन्नसक्छ । उनका लाग चुनौतीको पहाड खडा भएको छ । टाउकोमा तरबार जसरी कानुनी विषयहरु तेर्सिएका छन् ।

मुद्दाको किनारा लागेपछि मात्र रवि लामिछानेलाइको विषयले वारपारको बाटो लिन्छ । मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्